चितवनमा रविको बयान चलिरहँदा रास्वपा र प्रहरीबीच झडप, दुबैतर्फ घाइते

नयाँलिपिः चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको थियो ।

समर्थकले लामिछानेको पक्षमा नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको बताइएको छ ।

रास्वपा समर्थक र प्रहरीबीचको मुठभेडले केहीबेर भरतपुरको अस्पतालरोड क्षेत्र तनावग्रस्त भयो । चोबिसकोठीबाट प्रहरी घेरा तोडेर रास्वपा समर्थक जिल्ला प्रहरी कार्यलय अगाडि पुगेपछि दोहोरो झडप भएको थियो ।

सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । प्रहरीका अनुसार २० जनाभन्दा बढी घाइते भएका छन् ।

यता, प्रहरीले अनावश्यक बल प्रयोग गरेको रास्वपाले बताएको छ । रास्वपाका सभापति कृष्ण भुषालसहित १५ जना बढी घाइते भएको रास्वपा कार्यकर्ताले जनाएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले रास्वपा कार्यकर्ता र लामिछानेका समर्थकमाथि पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेपछि हाल स्थिति नियन्त्रणमा रहेको छ ।

 

Scroll to Top