पोखराः नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध जीत हात पारेको जनकपुर बोल्टले आज दोस्रो जीत निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले बलियो मानिएको कर्णाली याक्सविरूद्ध ८ विकेटको जित निकाल्यो। कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा १५.१ ओभरमा पूरा गर्यो।
कर्णालीका जितमा कप्तान अनिलकुमार साहले अर्धशतक प्रहार गरे। उनले नटआउट ६१ रन जोडे। उनले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै जिमी निशमले ८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए।
अर्का ओपनर आसिफ शेखले ३६ रन जोडेका थिए। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका लाहिरू मिलान्थाले जिशन मक्सूदको एलबिडब्लूको धरापमा पर्नुअघि १३ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अन्तिम दुई ओभरमा ४३ रन जोड्दै ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो।
अन्तिम दुई बल बाँकी हुँदा रनआउट भएका अर्जुन घर्तीले २२ बलमा ३३ रन र सोमपाल कामीले १३ बलमा नटआउट २९ रन जोडे।
अर्जुनले १९औं ओभरमा जनकपुरका हर्ष थाकरलाई २२ रन प्रहार गरेका थिए। उनले त्यसका लागि दुई चौका र दुई छक्का प्रहार गर्दा एक पटक दुई रन लिए। अन्तिम ओभरमा कप्तान सोमपालले जिमी निशमलाई २१ रन प्रहार गरे। सोमपालले तीन चौका र एक छक्का प्रहार गरे।
याक्सले महंगो मूल्य तिरेर भित्र्याएको भारतीय खेलाडी शिखर धवन ‘गब्बर’ले खासै प्रदर्शन गर्न नसक्दा कमजोर स्कोरमा सिमित हुन पुग्यो । ओपनिङ् ब्याटरकारुपमा आएका धवनले १४ बलमा १४ रन बनाए । उनलाई क्यानेडियन बलर हर्ष थाकरले बोल्ड गरे ।
एनपीएलमा भोलि पनि दुई खेल हुँदैछन्। पहिलो खेल ९ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तथा दिउँसाे १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।