Skip to content
Home » पोखरा एभेन्जर्स ‘एनपीएल’ ट्रफी कब्जा गर्ने लक्ष्य सहित तयारी गर्दै

पोखरा एभेन्जर्स ‘एनपीएल’ ट्रफी कब्जा गर्ने लक्ष्य सहित तयारी गर्दै

  • by Naya Lipi

नयाँ लिपी,पोखरा । आगामी १५ गतेदेखि काठमाण्डौंमा सुरु हुने नेपाल प्रिमियर लीग (एनपीएल)मा घरेलु टोली पोखरा एभेन्जर्सले टाइटल जित्ने लक्ष्य सहित तयारी गरेको प्रतिक्रिया दिएको छ ।

पोखरा रंगशालामा व्यस्त टोली विश्वविख्यात खेलाडी जन्टी रडबाट फिल्डिङ् र ब्याटिङ्मा प्रशिक्षण लिएर हौसिएपछि अब टाइटल जित्न अग्रसर रहेको बताउँछ । चर्चित भारतीय क्रिकेट लिग आइपीएलमा चेन्नई सुपर किंग्सका प्रशिक्षक रहेका राजिव कुमार यतिबेला खेलाडीलाई विविध आयामबाट प्रशिक्षण दिन व्यस्त छन् ।

उनै राजिवले प्रशिक्षणकाबीच समय निकाल्दै नयाँ लिपिलाई भने ‘टिमका खेलाडीको कौशल देखेर मलाई चेन्नइ सुपर किंग्समै काम गरिरहेको अनुभव भइरहेको छ । ‘हामी प्रशिक्षण सकेर काठमाण्डौं खेल्न जान आतुर छौं’ प्रशिक्षक राजिव भन्छन् ‘पोखराले चेन्नइ सुपर किंग्सकै झल्को दिने गरेर खेल्नेछ र टाइटल जित्नेछ ।’

प्रत्येक दिन टिमको खेल शैली सुधारिएको बताउँदै उनले कुनैपनि टिमलाई कमजोर नठानी प्रत्येक खेल जित्नलाई खेल्ने उल्लेख गरे । उनले टिम बलिङ्, ब्याटिङ् र फिल्डिङ तीनै कोणमा चुस्त रहेकोे दाबी गरे । ‘स्रोत, साधनमा चेन्नई भन्दा केही कमजोर त पक्कै छ र तर खेल कौशल र रणनीतिमा समान अवस्था रहेको छ’ उनले सुनाए ।

‘अर्काे वर्ष पनि पोखराकै प्रशिक्षककारुपमा देख्न पाउँछौं ?’ भन्ने प्रश्नमा राजिवले भने ‘त्यो त व्यवस्थापनमा भर पर्छ तर सम्भवतः म पुनः यहाँ आउनेछु ।’

टिमका अर्का प्रभावशाली खेलाडी २२ वर्षे सागर ढकालले पनि प्रशिक्षकको भनाई सहमति जनाएका छन् । ढकाल भन्छन् ‘कागजमा कोही बलियोजस्तो देखिए पनि पोखरालाई हराउन सजिलो छैन, हामी जित्ने रणनीतिमा खेल्नेछौं ।’

खेलसँगै क्रिकेटमा भाग्यकोसमेत उत्तिकै हात रहने स्वीकार्दै ढकालले थपे ‘पोखरा आफैमा लक्की टिम हो नि ।’ बितेको डेढ वर्ष आफुले गरेको मेहेनत र उपलब्धीले निक्कै सकारात्मक रहेको सुनाउँदै उनले हाल प्रशिक्षणको शैली थपिँदा पोखरालाई पूर्ण योगदान दिने बताए ।

टिमका अर्का खेलाडी सुनाम गौतम अर्का उत्साही खेलाडी हुन् । अष्ट्रेलियामा घरेलु क्रिकेट खेलिरहेका गौतम त्यहाँको अनुभव र यहाँको थप प्रशिक्षणले पोखरा दाबेदार टोली रहेको बताउँछन् ।

‘हामी यहाँ क्रिकेटसँगै मानसिक, शारीरिक अभ्याससमेत गरिरहेका छौं’ गौतम भन्छन् ‘क्रिकेट रणनीति पनि हो, जुन खेल कौशलसँगै अघि बढाइन्छ ।’

टिममा हालै सम्पन्न टी–२० विश्वकपमा शानदार प्रदर्शन गरेका अमेरिकी खेलाडी, एन्ड्रिज गुज, नेदरल्याण्डका बास डी लीड, स्कटल्याण्डका माइकल लिस्क र म्याट क्रिस्लेजस्ता विदेशी खेलाडी रहेका छन् ।

पोखरा एभेन्जर्समा ईङल्याडका दुई जना स्कटल्याण्ड,डच,वेस्ट इन्डिज र अमेरिकाका एक एक जना गरि ६ देशका विदेशी खेलाडीहरु टीममा रहेकोले ट्रफीको हकदार भएको म्यानेजर किरण शम्सेर राणाले सुनाए ।

नेपालका ओपनिङ् ब्याटर कुशल भुर्तेलकोे कप्तानीमा रहेको पोखराले पहिलो खेल १८ गते चितवन राइनोजसँग खेल्नेछ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x