बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा सफल बनाउन आफ्नो प्रस्ताव अघि सारेका छन्।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)ले मंगलबार आयोजना गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी परामर्श कार्यक्रममा बस्नेतले यात्रु आफै आउँछन् र विमानस्थल चल्छ भनेर बस्न नहुने बताए।
विमानस्थल सञ्चालनसँगै यात्रु संख्या बढाउने रणनीति पनि बनाउनुपर्ने उनको भनाइ छ। यसका लागि हवाई सेवा, होटल, पदयात्रा लगायत पर्यटन व्यवसायलाई एकअर्कासँग जोड्नुपर्ने उनले बताए।
बस्नेतका अनुसार पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले काठमाडौंको तुलनामा महँगो भाडा तिर्नुपर्ने अवस्था हुनु हुँदैन। पोखराबाटै विदेश जान सकिने सुविधा हुँदाहुँदै हवाई भाडा महँगो पर्ने हो भने यात्रुले काठमाडौंकै बाटो रोज्न सक्छन्।
त्यसैले पोखराबाट स्वदेशी वायुसेवा कम्पनीमार्फत नियमित र किफायती अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने बस्नेतको भनाइ छ।
विमानस्थल सञ्चालनलाई आर्थिक रूपमा सम्भव बनाउन दैनिक कम्तिमा ३० वटा उडान आवश्यक पर्ने बस्नेतले बताएका छन्।
दैनिक १५ घन्टा विमानस्थल सञ्चालन गर्ने हो भने प्रत्येक घन्टा औसत दुईवटा उडान हुनुपर्छ। यस हिसाबले दैनिक ३० वटा अवतरण र ३० वटा प्रस्थान गरी विमानस्थलमा ६० पटक जहाजको आउजाउ हुनुपर्छ।
पर्याप्त उडान नभएसम्म विमानस्थलको पूर्वाधार पूर्ण क्षमतामा उपयोग हुन नसक्ने उनको भनाइ छ।
आन्तरिक यात्रुमा मात्र भर परेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कठिन हुने बस्नेत बताउँछन्। त्यसका लागि पोखरामा मात्रै वार्षिक १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राख्नुपर्ने उनको प्रस्ताव छ।
अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै विदेशी पर्यटकलाई पोखरा आउने वातावरण बनाउन पर्यटन क्षेत्रले पनि उत्तिकै मिहिनेत गर्नुपर्ने उनको भनाइ छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सफल बनाउन यसैलाई केन्द्र बनाएर क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी विकास गर्नुपर्ने बस्नेतले बताएका छन्। यस्तो वायुसेवा कम्पनीलाई जहाज उडाउने व्यवसायमा मात्र सीमित राख्न नहुने उनको भनाइ छ।
हवाई सेवा, होटल, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिलाई एकैठाउँ जोडेर विदेशी पर्यटक निम्ति आकर्षक भ्रमण प्याकेज तयार गर्नुपर्ने उनले बताए।
यसले एकातिर वायुसेवा कम्पनीलाई नियमित यात्रु उपलब्ध गराउँछ भने अर्कातिर होटल तथा अन्य पर्यटन व्यवसायको कारोबार पनि बढाउँछ।
बस्नेतले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिमलाई पनि ध्यान दिनुपर्ने बताएका छन्।
बाढी, पहिरो तथा हिमाली क्षेत्रमा उत्पन्न हुने विपदले पर्यटकको सुरक्षाका साथै पर्यटन व्यवसायमा असर पार्न सक्छ। यस्तो जोखिम सामना गर्न वायुसेवा कम्पनी र पर्यटन व्यवसायीबीच सहकार्य हुनुपर्ने उनको भनाइ छ।
पर्यटकको सुरक्षा सुनिश्चित गर्न आपतकालीन उद्धार तथा जोखिम व्यवस्थापनको योजना पनि तयार पार्नुपर्ने उनले बताए।







