सलमान खानको फिल्म ‘मातृभूमि’ मा चिनियाँ सेनाका मेजर बनेका अनूप विक्रम शाही नेपाली सिनेमाका परिचित अनुहार हुन्। मोडलिङबाट करिअर सुरु गरेका अनूप अब बलिउडमा डेब्यु गर्दैछन्।
सलमान खानको फिल्म ‘मातृभूमि’ को ट्रेलर सार्वजनिक भएपछि दर्शकमा उत्सुकता बढेको छ। ट्रेलरमा सलमान चिनियाँ सेनासँग भिड्दै गरेको देखिएका छन्। यस क्रममा उनको सामना चिनियाँ सेनाका एक मेजरसँग पनि हुन्छ। उक्त भूमिकामा देखिएका अभिनेता अनूप विक्रम शाहीले पनि दर्शकको ध्यान खिचेका छन्।
हिन्दी सिनेमाका दर्शकका लागि अनूप नयाँ अनुहार भए पनि नेपाली फिल्म क्षेत्रमा उनको बलियो पहिचान छ। ट्रेलरमा उनको झलक सार्वजनिक भएपछि धेरैले उनीबारे इन्टरनेटमा खोजी गरिरहेका छन्। मोडलिङबाट सुरु भएको उनको यात्रा कसरी बलिउडसम्म पुग्यो भन्ने विषय अहिले चर्चामा छ।
नेपाली सिनेमाका चर्चित खलनायक हुन् अनूप
अनूप विक्रम शाही नेपाली सिनेमाका परिचित अभिनेतामध्ये पर्छन्। अग्लो कद, आकर्षक व्यक्तित्व र प्रभावशाली अभिनय उनको विशेषता हो। उनी विशेषगरी नकारात्मक भूमिकाका लागि चिनिन्छन्।
रोचक कुरा के छ भने अनूप सधैँ नायक बन्न चाहन्थे। तर पर्दामा खलनायकका रूपमा उनले बढी लोकप्रियता पाए। कुनै फिल्मी पृष्ठभूमि नभए पनि आफ्नै मेहनतले उनले नेपाली फिल्म क्षेत्रमा स्थान बनाए।
काठमाडौंमा जन्मिएका अनूपले मोडलिङबाट मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका हुन्। सन् २०१३ मा उनले ‘म्यानहन्ट इन्टरनेसनल नेपाल’ को उपाधि जितेका थिए। त्यसपछि सन् २०१६ मा चीनको सेन्जेनमा आयोजित ‘म्यानहन्ट इन्टरनेसनल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे। उक्त प्रतियोगितामा उनले ‘बेस्ट टीभी मोडल’ को पुरस्कारसमेत प्राप्त गरे।
‘हसिया’ बाट पाए फिल्ममा पहिचान
मोडलिङमा पहिचान बनाएपछि अनूपले अभिनय क्षेत्रमा प्रवेश गरे। सन् २०१३ मा नेपाली फिल्म ‘सौर्य’ बाट उनले फिल्मी करिअर सुरु गरेका थिए। तर सन् २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘हसिया’ ले उनलाई वास्तविक पहिचान दिलायो।
उक्त फिल्ममा उनको नकारात्मक भूमिकालाई दर्शकले रुचाए। त्यसपछि उनी नेपाली सिनेमाका चर्चित खलनायकका रूपमा स्थापित भए।
अनूपले ‘बीर विक्रम’, ‘किङ’, ‘क्री’, ‘लिली बिली’, ‘जय शम्भु’, ‘पुरानो बुलेट’, ‘पासवर्ड’, ‘लक्षे’ र ‘लप्पन छप्पन २’ लगायतका फिल्ममा अभिनय गरेका छन्। आफ्नो पहिरन शैली र पर्दामा देखिने प्रभावशाली उपस्थितिका कारण उनी नेपाली फिल्म क्षेत्रका स्टाइलिस अभिनेतामध्ये पनि गनिन्छन्।
टेलिभिजन शोदेखि राजनीतिसम्म
फिल्मबाहेक अनूपले टेलिभिजनमा पनि आफ्नो पहिचान बनाएका छन्। उनी नेपाली रियालिटी शो ‘हिमालयन रोडिज’ मा ग्याङ लिडरका रूपमा देखिएका थिए। कार्यक्रममा उनको स्पष्ट बोल्ने शैली र प्रभावशाली व्यक्तित्व दर्शकले रुचाएका थिए।
अभिनयबाहेक उनले राजनीतिमा पनि हात हालेका छन्। सन् २०२२ मा उनी नेपाली कांग्रेसमा आबद्ध भएका थिए।
सयौँ कलाकारलाई पछि पार्दै ‘मातृभूमि’ मा भूमिका
अनूपको करिअरका लागि ‘मातृभूमि’ ठूलो अवसर बनेको छ। फिल्मका निर्देशक अपूर्व लाखियाले ट्रेलर सार्वजनिक कार्यक्रममा चिनियाँ सेनाका मेजरको भूमिकाका लागि विश्वभरका कलाकारको अडिसन लिइएको बताएका थिए।
सयौँ कलाकारमध्येबाट अनूपलाई उक्त भूमिकाका लागि छनोट गरिएको थियो। यससँगै नेपाली सिनेमामा आफ्नो पहिचान बनाइसकेका अनूपले अब हिन्दी सिनेमाका दर्शकमाझ आफूलाई चिनाउने अवसर पाएका छन्।
अनूप सलमान खानका ठूला प्रशंसक हुन्। ट्रेलर सार्वजनिक कार्यक्रममा उनले सलमानको खुट्टा छोएर सम्मान व्यक्त गरेका थिए। उनको उक्त व्यवहार सामाजिक सञ्जालमा समेत चर्चित बनेको थियो।
अब फिल्ममा सलमान र अनूप आमनेसामने हुने दृश्यलाई लिएर दर्शकमा उत्सुकता बढेको छ। अपूर्व लाखियाको निर्देशनमा बनेको ‘मातृभूमि’ डिसेम्बर ४ मा सिनेमा हलमा प्रदर्शन हुँदैछ।
मालिना जोशीसँग जोडिएको थियो नाम
अनूप आफ्नो व्यक्तिगत जीवनलाई चर्चाबाट टाढै राख्न रुचाउँछन्। यद्यपि, एक समय उनको नाम पूर्वमिस नेपाल तथा मोडल मालिना जोशीसँग जोडिएको थियो।
दुवैले ‘रानी’ फिल्ममा सँगै काम गरेका थिए। करिब दुई वर्ष सम्बन्धमा रहेपछि उनीहरू अलग भएको बताइन्छ।
हाल अनूप आफ्नो अभिनय करिअरमा केन्द्रित छन्। ‘मातृभूमि’ मार्फत बलिउडमा नयाँ पहिचान बनाउने तयारीमा रहेका उनी नेपाली कलाकारका रूपमा अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने अवसरको खोजीमा छन्।
इन्डिया टीभीको सहयोगमा ।







