newa

दीपावलीमा नेवारी संस्कृतिको रौनक, माटेपानीमा सांस्कृतिक उत्सव हुँदै

पोखरा । नेवार समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा दीपावली–२०८३ को अवसरमा शुभकामना आदानप्रदानसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

नेवाः कचा खलः र नेवाः मिसा पुचः पोखरा–१२ को संयुक्त आयोजनामा आगामी कार्तिक २१ गते शनिबार पोखरा–१२ माटेपानीस्थित एसआर केसी क्याटरिङ बेन्क्वेट (पोखरा–१२ वडा कार्यालयको अगाडि) मा कार्यक्रम आयोजना गर्न लागेको हो । साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा नेवारी कला, संस्कृति र परम्पराको विशेष झल्को प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

वि.सं. २०७३ सालदेखि नेवार समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय रहँदै आएको नेवाः कचा खलले यस वर्ष नेवाः मिसा पुचःसँग संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेको नेवाः कचा खलः पोखरा–१२ का अध्यक्ष शान्तकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा दीप प्रज्वलन, शुभकामना आदानप्रदान, नेवारी तथा अन्य सांस्कृतिक नृत्य, गीतसंगीत, स्थानीय कलाकारका विविध प्रस्तुति तथा युवा र बालबालिकाको प्रतिभा प्रदर्शन गरिनेछ। साथै, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्व, प्रायोजक तथा सहयोगी संस्थालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमले नेवार समुदायको मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्नुका साथै स्थानीय समुदायबीच सामाजिक सद्भाव, एकता, भाइचारा र सहकार्य अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा ज्येष्ठ नागरिक, महिला, युवा, बालबालिका, कलाकार, व्यवसायी, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

कार्यक्रम संयोजक ध्रुवकुमार श्रेष्ठका अनुसार कार्यक्रमलाई दीपावलीको शुभकामना आदानप्रदानमा मात्र सीमित नराखी मौलिक संस्कृति संरक्षण, स्थानीय प्रतिभाको प्रोत्साहन र सामाजिक एकता अभिवृद्धि गर्ने साझा अभियानका रूपमा अघि बढाउन खोजिएको हो ।

उनले कार्यक्रम सफल बनाउन बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, विद्यालय, व्यवसायी, स्थानीय संघसंस्था, समाजसेवी तथा सम्पूर्ण शुभेच्छुकलाई प्रायोजक, सहयोगी र सहभागीका रूपमा जोडिन आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल मार्बल एण्ड टायल सप्लायर्स, रत्नचोक, मार्बल इन्टरप्राइजेज र गण्डकी पेन्ट्स एण्ड वाटरप्रुफिङ प्रायोजकका रूपमा जोडिएका छन् । त्यसैगरी, एसियन लाइफ इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर, ग्रिन डेभलपमेन्ट बैंकिङ पार्टनर, होटल स्वर्णिम प्रालि होटल पार्टनर तथा आविष्कार हस्पिटल हस्पिटल पार्टनरका रूपमा रहेका छन् ।

त्यस्तै, ग्लोबल कलेजियट रानीपौवा, हिल प्वाइन्ट हाईस्कुल माटेपानी, बन्दीपुर केबलकार टुरिजम प्रालि, पोखरा ब्राइटर फ्युचर, एकेहामा जापानिज ट्रेनिङ कन्सल्टेसी, इन्फोचिफ कम्प्युटर पोखरा, पोखरा महानगरपालिका वडा नं. १२, ११ र ९ तथा हिमाली सांस्कृतिक परिवार सहयोगी संस्थाका रूपमा जोडिएका छन् । नयाँलिपि अनलाइन न्युज मिडिया पार्टनरका रूपमा रहेको छ ।

कार्यक्रममा प्रायोजक तथा सहयोगी संस्थाहरू थपिने क्रम जारी रहेको कार्यक्रम संयोजक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

नेवाः कचा खलः तथा नेवाः मिसा पुचःले सबैको साथ, सहयोग र सहभागिताबाट कार्यक्रम भव्य र सफल हुने विश्वास व्यक्त गरेका छन् । साथै, दीपावलीको उज्यालोसँगै स्थानीय कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा हातेमालो गर्न सम्पूर्ण पोखरेलीलाई आयोजकले आह्वान गरेका छन् ।

Scroll to Top