‘राजश्व कार्यालयको स्थापना आत्मनिर्भर प्रदेशतर्फको पाइला हो’ – मुख्यमन्त्री पाण्डे

संघीय सरकारबाट प्राप्त हुने अनुदान र स्रोतमा मात्र निर्भर नभई प्रदेशलाई आफ्नै आन्तरिक स्रोतबाट आर्थिक रूपमा सबल बनाउने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ।

कार्यालयको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार आत्मनिर्भरतको बाटोमा अघि बढेको उल्लेख गरे ।

‘प्रदेशको वित्तीय क्षमता अभिवृद्धि गर्ने, आन्तरिक स्रोतको पहिचान तथा व्यवस्थापन गर्ने, राजस्वको दायरा विस्तार गर्ने प्रक्रिया सुरु भएको छ’ मुख्यमन्त्री पाण्डेले भने ‘सरकारलाई प्राप्त हुनुपर्ने तर विभिन्न कारणले गुमिरहेको राजस्वको खोजी तथा परिचालन गर्ने कार्यालयको मुख्य उद्देश्य रहेको छ।’

कार्यालय सञ्चालनका लागि अर्थ मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयमा विद्यमान कर्मचारी दरबन्दीबाटै जनशक्ति व्यवस्थापन गरिएको छ।

सोही कारण कार्यालय सञ्चालनका नाममा प्रदेश सरकारलाई थप प्रशासनिक र आर्थिक भार नपर्ने पाण्डेले बताए ।

‘हाम्रो लक्ष्य राजस्वको दर बढाउनेभन्दा पनि राजस्वको दायरा बढाउने, नयाँ स्रोतको खोजी गर्ने र सम्भावित राजस्व चुहावट नियन्त्रण गर्ने हो पाण्डेले भनेका छन् ।’

प्रशासनिक खर्च कटौती र मितव्ययिताप्रति संवेदनशील रहँदै प्रदेशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने दिशामा संस्थागत प्रयास गरेको उनको भनाई छ ।

Scroll to Top