पोखरामा बुधबारदेखि तिहार लक्षित ‘गोदावरी-सयपत्री पुष्प मेला’

नेपालीको दोश्रो ठूलो चाँड तिहारको अवसरमा पोखरामा कात्तिक तेश्रो सातादेखि फूलको मेला लाग्ने भएको छ ।

फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा पोखरा रंगशालाको दुई नम्बर गेट भित्रको चौरमा यहि कात्तिक १८ गतेदेखि २३ गतेसम्म नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रदेश स्तरीय एवम् तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

मेलाको आगामी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको एशोसियसनले जनाएको छ ।

मेलामा २६ वटा स्टल रहने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार मेलामा व्यावसायीक २२ वटा, कृषि सामग्रीका ३ वटा र सूचनामूलक एउटा स्टल रहनेछन् ।

मेलामा करीब ५० प्रजातिका गोदावरी फूल प्रदर्शनीमा राखिने एशोसियसनका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।

संसारमा एक सयभन्दा बढी गोदावरीका प्रजाति भए पनि पोखरामा करीब ५० प्रजातिका गोदावरी पाईन्छन्,उनले भने,‘ती सबै गोदावरीका प्रजातिहरु मेलामा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।’

उनका अनुसार मेलामा गोदावरी मूख्य आकर्षणको रुपमा रहे पनि सयपत्री, सिजनल फूलहरु, सुनगाभा, विभिन्न वनस्पती, परम्परागत विरुवा, बोन्साईका विरुवा, कट्फ्लावरलगायतका फूलहरुको प्रर्दशनी तथा बिक्रीका लागि राखिनेछन् ।

मेलाको मूख्य उद्धेश्य फूल प्रयोगप्रति सर्वसाधारणलाई आकर्षित गर्दै स्वदेशी फूलको प्रयोगमा जोड दिनु रहेको अध्यक्ष सुवेदीले स्पष्ट पारे ।

‘पुष्प व्यवसाय गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने फूल विरुवाप्रति अभिरुची राख्ने वा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति मेला उपयोगी हुनेमा हामी विश्वस्त छौं’–उनले भने । मेलाको करीब ३५ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको सुवेदीले बताए ।

गण्डकी प्रदेशमा व्यवसायीक रुपमा ४८ जनाले पुष्प व्यवसाय गर्दै आएको एशोसियसनले जनाएको छ । त्यसबाहेक सिजनल उत्पादन गर्ने किसानहरु पनि धेरै छन् ।

पोखरामा करीब २ सय रोपनीमा यस वर्ष किसानले सयपत्री फूल लगाएको पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । किसानहरुले तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गरेको उनले बताए ।

Scroll to Top