bangali pkrau

प्रहरी निरीक्षक गणेश न्यौपानेको नेतृत्वमा ठूलो अपरेसन, पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै शंकास्पद आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.१८ गणबाट खटिएको टोलीले सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपानेको नेतृत्वमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

टोलीले काठमाडौंको गोल्कोपाखा र नयाँबजार क्षेत्रबाट पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, रिफत मियाँ र अकम अब्दुल्लाह रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा तीन जनाको भिसा अवधि समाप्त भइसकेको र उनीहरू अवैध रूपमा नेपालमा बस्दै आएको खुलेको छ। त्यस्तै, जाहिंगिर आलम र रोनित रोय चौधरीमाथि बंगलादेशी नागरिकलाई बन्धक बनाई फिरौती असुल्ने गरेको आशंका गरिएको छ ।

प्रहरी टोलीले उनीहरूको कोठाबाट विभिन्न व्यक्तिका राहदानी, राहदानीका फोटोकपी तथा ठूलो रकमको आर्थिक कारोबार उल्लेख भएका दुई थान डायरीसमेत बरामद गरेको छ । रोनित अवैध हुण्डी कारोबारमा संलग्न रहेको सूचनासमेत प्राप्त भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त कारबाहीपछि पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थानमा काठमाडौंमा बुझाएको प्रहरी निरिक्षक न्यौपानेले बताए ।

Scroll to Top