गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लामा रहेका विद्यमान समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। काठमाडौँमा आयोजित गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
अन्तर्क्रियाका क्रममा सहभागीहरूले जिल्लाको विकास निर्माणको अवस्था, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
गोरखा पूर्वाधार विकासमा पछाडि परेको र प्रचुर पर्यटकीय सम्भावना हुँदाहुँदै पनि सरकारले पर्याप्त चासो नदिएको उनीहरूको गुनासो थियो। साथै, नेपाली किसानले उत्पादन गरेका तरकारी तथा कृषि उपजले उचित बजार र मूल्य नपाएको विषय उठाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिन र बजारीकरणमा ठोस पहल गर्न आग्रह गरेका थिए।
यसैगरी, व्यवसायीहरूले जिल्लामा आर्थिक गतिविधि विस्तार गर्न र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न व्यावसायिक वातावरण सुधार हुनुपर्नेमा जोड दिए। सहभागीहरूले गोरखावासीलाई भाषण र आश्वासनभन्दा काम गरेर देखाउने नेतृत्व चाहिएको धारणा राखेका थिए।
सहभागीका गुनासा र सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए। गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गर्दै उनले जिल्लाका नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने स्पष्ट पारे।
यसैबीच, केही साताअघि बूढीगण्डकीको बाढीले बगाएको पुलको पुनर्निर्माण तत्काल अघि बढाइएकामा सहभागीहरूले गृहमन्त्री गुरुङलाई धन्यवाद दिएका थिए। विपद्का कारण प्रभावित बनेको आवागमन सहज बनाउन गरिएको पहलप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्।







