शनिबार साँझदेखि क्रमशः मौसममा सुधार हुनेछ – मौसम विभाग

काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा भइरहेको वर्षा आज साँझदेखि क्रमिक रूपमा कम हुँदै जाने अनुमान गरिएको छ ।

नेपाल मौसम विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चक्रवातको अवशेष कमजोर हुँदै गएकाले मौसममा सुधार आउने देखिएको हो ।

मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो एक घण्टाको मौसमी अवस्थालाई हेर्दा देशका विभिन्न भूभागमा क्रमिक रूपमा सुधार भइरहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम सुधार हुँदै गएको छ भने कोशी र मधेश प्रदेशका पूर्वी भूभागमा पनि वर्षा कम हुँदै गएको छ ।

उनले भने, ‘पछिल्लो एक घण्टाको मौसम हेर्ने हो भने क्रमिक रूपमा सुधार आइरहेको अवस्था छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको भूभागमा मौसम सुधार हुँदै गइरहेको छ भने त्यससँगसँगै कोशी प्रदेश र मधेश प्रदेशको पनि पूर्वी भूभागमा मौसम सुधार हुँदै गएको छ ।’

उनका अनुसार बागमती, गण्डकी, कर्णाली र कोशी प्रदेशका पहाडी भूभागमा भने अझै बादल लाग्ने र वर्षा हुने क्रम जारी छ । काठमाडौं र ललितपुर आसपासका क्षेत्रसहित दोलखा र संखुवासभाका केही स्थानमा मध्यम वर्षा भएको छ भने अन्य भूभागमा हल्का वर्षा भइरहेको छ ।

लामिछानेले अपराह्नदेखि वर्षा क्रमिक रूपमा कम हुँदै जाने बताए । उनका अनुसार आज रातिदेखि मौसममा थप सुधार आउनेछ । भोलि र पर्सि आजको तुलनामा मौसम अझ राम्रो रहने देखिएको छ ।

Scroll to Top