ddc

डीडीसीको भ्रष्टाचार काण्डमा सीआईबीको एक्सन, तत्कालीन महाप्रबन्धकसहित ४ जना पक्राउ

काठमाडौं । दूध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमितता तथा संगठित अपराध प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन महाप्रबन्धकसहित ४ जनालाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार संस्थानमा कार्यरत तत्कालीन महाप्रबन्धकसहित उच्च तहका कर्मचारी तथा अन्य व्यक्तिहरूको मिलेमतोमा पूर्वनियोजित योजना बनाई संस्थानलाई आर्थिक रूपमा ठूलो क्षति पुर्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा उनीहरूले विभिन्न समूह बनाएर संस्थानलाई करिब १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ आर्थिक नोक्सानी पुर्याएको आरोप लागेको छ ।

पक्राउ पर्नेहरूमा तत्कालीन महाप्रबन्धक सञ्जीव झा, विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय रहेका छन्। उनीहरू विभिन्न समयमा डीडीसी तथा सम्बन्धित कार्यालयमा जिम्मेवारीमा कार्यरत रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले थप अनुसन्धान भइरहेको भन्दै यस प्रकरणमा अन्य संलग्न व्यक्तिहरूको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याइने जनाएको छ ।

Scroll to Top