दशैँभरि मौसम सामान्यतया राम्रो रहने देखिए पनि अर्को साता नेपालमा वर्षाको सम्भावना बढेको छ।
बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकसित हुन सक्ने र त्यसको प्रभाव नेपालसम्म आइपुग्न सक्ने विभिन्न मौसम पूर्वानुमान मोडेलले संकेत गरेका छन्।
मौसमसम्बन्धी अपडेट दिँदै मौसमविद् विनोद पोखरेलले कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना देखिएको बताएका छन्। उनका अनुसार उक्त प्रणालीको प्रभाव सुरु हुने समय, वर्षाको मात्रा र प्रभावित हुने क्षेत्रबारे भने अझै निश्चित भइसकेको छैन।
पूर्वानुमानअनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेकाले आगामी दिनका मौसम अपडेटमा ध्यान दिनुपर्ने उनले बताएका छन्।
विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको नियमित जानकारी लिन र आधिकारिक सूचनामा ध्यान दिन उनले सुझाव दिएका छन्। त्यस्तै, धान भित्र्याउने तयारीमा रहेका किसानलाई स्थानीय मौसमको अवस्था हेरेर सम्भव भएसम्म अर्को साताको बुधबारअघि नै बाली भित्र्याउने योजना बनाउन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले अहिले देखिएको सम्भावनालाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनको भनाइ छ।







