पोखरा — कास्की प्रहरीले रातको समयमा मोटरसाइकल पड्काउँदै हिँडेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेशन ३६५’ अभियानअन्तर्गत असोज २९ गते राति करिब साढे १० बजे बजे मोटरसाइकल पड्काउँदै हिँडेको सूचनाका आधारमा प्रहरीले पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्कबाट मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको हो।
चारवटा चेकपोष्टका प्रहरी टोलीले रोक्न खोज्दा नरोकी प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्दै चर्को आवाजमा मोटरसाइकल पड्काउँदै हिँड्ने क्रममा ग २२ प ६९५३ नम्बरको क्रसफायर मोटरसाइकल चालक जिल्ला स्याङ्जाको वालिङ नगरपालिका–७ सपौदे स्थायी वतन भई हाल पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २१ वर्षीय देउ बहादुर गुरुङलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको मातहत वडा प्रहरी कार्यालय बगरमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्कबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।







