हिंसात्मक झडप बिच पनि स्टिलर्स–सेन्ट्सबीचको खेल नसर्ने

फ्रान्सको राजधानी पेरिसमा पछिल्लो समय प्रदर्शन र हिंसात्मक झडप बढिरहेका बेला पनि नेसनल फुटबल लिग (एनएफएल) ले पिट्सबर्ग स्टिलर्स र न्यु अर्लिन्स सेन्ट्सबीच हुने आगामी खेल निर्धारित मितिमै सञ्चालन गर्ने जनाएको छ ।

एनएफएलका अनुसार आगामी अक्टोबर २५ मा पेरिसस्थित स्टेड डी फ्रान्समा हुने खेलको तयारी पूर्वनिर्धारित कार्यक्रमअनुसार अघि बढिरहेको छ। यो खेल एनएफएलको नियमित सिजनअन्तर्गत पेरिसमा आयोजना हुन लागेको पहिलो खेल हो ।

फ्रान्समा पछिल्ला केही सातादेखि विद्यालयको अवस्था र शैक्षिक सुविधालाई लिएर विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच विभिन्न स्थानमा हिंसात्मक झडपसमेत भएका छन् । पेरिस क्षेत्रबाट सुरु भएको आन्दोलन क्रमशः देशका अन्य भागमा पनि फैलिएको छ ।

प्रदर्शनकारी विद्यार्थीहरूले विद्यालयमा लामो समयसम्म अध्ययन गर्नुपर्ने अवस्था, अत्यधिक गर्मी हुने कक्षाकोठा, जीर्ण विद्यालय भवन तथा शिक्षक र कर्मचारीको अनुपस्थितिजस्ता समस्याप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले विद्यालयको भौतिक अवस्था सुधार गर्न र शैक्षिक वातावरण व्यवस्थित बनाउन माग गर्दै आएका छन् ।

पेरिसमा जारी अशान्तिका कारण खेलको सुरक्षा र सञ्चालनबारे चासो बढिरहेका बेला एनएफएलले स्थानीय अधिकारी तथा साझेदार निकायसँग समन्वय गरेर आवश्यक तयारी अघि बढाइरहेको स्पष्ट पारेको छ ।

एनएफएलका प्रमुख प्रवक्ता ब्रायन म्याकार्थीले अन्तर्राष्ट्रिय खेलसहित प्रत्येक खेलका लागि स्थानीय अधिकारी र साझेदारसँग सञ्चालन तथा सुरक्षासम्बन्धी विषयमा नजिकबाट सहकार्य गरिने बताएका छन् । उनले यसै महिनाको अन्त्यमा पेरिसमा समर्थकहरूलाई स्वागत गर्न आफूहरू उत्साहित रहेको पनि उल्लेख गरेका छन् ।

एनएफएलले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ । पिट्सबर्ग स्टिलर्सका लागि भने यो लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने अवसर हो ।

गत वर्ष आयरल्यान्डको डब्लिनस्थित क्रोक पार्कमा मिनेसोटा भाइकिङ्सविरुद्ध घरेलु टोलीका रूपमा खेलेको स्टिलर्सले उक्त खेल २४–२१ ले जितेको थियो ।

पेरिसमा जारी प्रदर्शन र सुरक्षा चुनौतीबीच पनि एनएफएलले अक्टोबर २५ को खेल तथा त्यससँग सम्बन्धित कार्यक्रम निर्धारित योजनाअनुसार अघि बढाउने जनाएको छ ।एजेन्सी,

Scroll to Top