नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत खड्गीले राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
खड्गीले सोमबार मात्रै काँग्रेस सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई सभापतिको जिम्मेवारीका लागि योग्य ठानेर उम्मेदवारी दिने निर्णय गरेको बताएका थिए।







