अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा आर्थिक वर्ष २०८२र८३ मा १ हजार ३ सय ३७ उजुरी दर्ता भएका छन्।
गण्डकी प्रदेशको कार्यक्षेत्रभित्र रहेका १० जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी उजुरी कास्कीको पोखरा महानगरपालिका सम्बद्ध रहेको आयोगले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका १ हजार १ सय ५० वटा र अघिल्लो वर्षबाट सरेर आएका १ सय ८७ वटा गरी कूल १ हजार ३ सय ३७ उजुरीमध्ये १ हजार १ सय ६० उजुरी स्क्रिनिङ भई १ सय ७७ उजुरी फर्छ्यौट हुन बाँकी रहेको आयोग पोखराका कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले बताए। विस्तृत अनुसन्धानतर्फ १ सय ११ उजुरीहरू अनुसन्धानका क्रममा रहेका छन्।
सोमबार आयोगका पोखरा कार्यालय प्रमुख सापकोटाले नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम ३६ औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेका हुन्।
प्रतिवेदन बुझाउँदै सापकोटाले सार्वजनिक पद धारण गरेको व्यक्तिले गर्ने भ्रष्टाचार र अख्तियार दुरुपयोगका उजुरीको प्रारम्भिक छानबिन, विस्तृत अनुसन्धान, विशेष अदालतमा आरोपपत्र दायर तथा सर्वोच्च अदालतमा पुनरावेदनको कार्य सम्पादन भइरहेको जानकारी दिए।
आयोगले सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान र अभियोजनलाई समेत प्राथमिकताका साथ अघि बढाएको उनले बताए। सुशासन प्रवर्द्धनका लागि उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत सुदृढीकरणका रणनीति तथा कार्यनीति लागू गरिएको उनको भनाइ छ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले भ्रष्टाचार निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहोदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा जोड दिए।







