करार चिकित्सक आन्दोलनमा, प्रोत्साहन भत्ता माग्दै सातै प्रदेशका मन्त्रालयमा

छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समितिमा आबद्ध चिकित्सकहरुले आफूहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

उनीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउँदै राज्यले उपलब्ध गराएको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कार्यरत अवस्थामा प्रोत्साहन भत्ता नदिइएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

देशैभर रहेका करारका चिकित्सकहरुले आज स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशमासमेत ध्यानाकर्षण गराउँदै प्रोत्साहन भत्ता यथाशीघ्र उपलब्ध गराउन दबाब दिएका छन् ।

छात्रवृत्ति करार चिकित्सकहरूले आफूहरू नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका उत्कृष्ट विद्यार्थी भएको उल्लेख गर्दै हालको तलबमा प्रोत्साहन भत्ता उपलब्ध नगराइएको बताएका छन् ।

उनीहरूले नेपालको संविधानको धारा १८ ले प्रदान गरेको ‘समानताको हक’ माथि यसबाट प्रहार भएको दाबी गरेका छन्।

त्यस्तै, आइसीईएससीआरको धारा ७ ले सबै श्रमिकलाई समान कामका लागि समान पारिश्रमिक तथा सुविधा सुनिश्चित गरेको र सम्मानित सर्वोच्च अदालतले समेत यससम्बन्धी यथोचित व्यवस्था हुनुपर्ने आदेश दिएको उनीहरूको ज्ञापनपत्रमा उल्लेख छ ।

राज्यको स्वास्थ्य सेवामा छात्रवृत्ति करारका चिकित्सकहरूको योगदान महत्वपूर्ण रहेको भन्दै उनीहरूले आफूहरूको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेका छन ।

माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत उनीहरूले दिएका छन्। छात्रवृत्ति करार चिकित्सकहरूले स्वास्थ्य मन्त्रालयले आफ्नो मागलाई सकारात्मक रूपमा लिएर आवश्यक निर्णय गरिदिन आग्रह गरेका छन ।

ज्ञापनपत्रको बोधार्थमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिवहरूलाई समेत उल्लेख गरिएको छ ।

उत्ता कर्णाली प्रदेशमा भने चौबीस घण्टाभित्र ठोस निर्णय नभएमा कामकाजलाई निरन्तरता दिन असमर्थ हुने चेतावनीसमेत समितिले दिएको छ ।

Scroll to Top