फ्लाई दुबईमार्फत पोखराबाट उडिदिन मेयर आचार्यको अपील

पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक आह्वान गरेका छन् ।

फ्लाई दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जाने यात्रुको संख्या कम देखिएपछि उनले आगामी ३–४ महिनालाई विशेष प्राथमिकतामा राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गरेका हुन् ।

मेयर आचार्यले पोखरा–दुबई नियमित उडानलाई सफल र दिगो बनाउन सरकारका तीनै तह, निजी क्षेत्र, पर्यटन व्यवसायी, नागरिक समाज तथा आम यात्रुले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताएका छन् ।

उनले अहिले सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन नसकिए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन र विस्तारमा आगामी दिनमा थप चुनौती आउन सक्ने उल्लेख गरेका छन् ।

‘लामो समयको पहल, प्रयास र निरन्तर संवादपछि पोखरा–दुबई नियमित उडान सुरु भएको छ । यो पोखरा र समग्र गण्डकी प्रदेशका लागि महत्वपूर्ण अवसर हो,’ आचार्यले भनेका छन् ।

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित र सफल बनाउन अहिलेको समय अवसरसँगै जिम्मेवारीको समय पनि हो । उनले अहिले पहल गर्न नसके पछि पछुताउनुको अर्थ नहुने बताएका छन् ।

‘अहिले पहल गर्न सकिएन भने पछि ‘त्यतिबेला गर्न सकेको भए हुन्थ्यो’ भनेर पश्चात्ताप गर्नुको अर्थ रहने छैन,’ उनले भनेका छन् ।

महानगरपालिकाले आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम पहिचान गरी योजनाबद्ध रूपमा काम गरिरहेको आचार्यले बताएका छन् । प्रदेश तथा संघीय सरकारले पनि आ–आफ्नो जिम्मेवारीअनुसार आवश्यक सहजीकरण गर्ने अपेक्षा उनले गरेका छन् । नागरिक तथा व्यावसायिक क्षेत्रबाट पनि आवश्यक पहल हुने विश्वास उनले व्यक्त गरेका छन् ।

आचार्यले अबको ३–४ महिनामा पोखराबाट दुबई तथा दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा जाने यात्राको योजना बनाउन आग्रह गरेका छन् । पोखरासहित धौलागिरी, चितवन–भरतपुर, बुटवललगायत पोखरा हुँदै यात्रा गर्न सक्ने यात्रुलाई सम्भव भएसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।

‘पोखराका साथै धौलागिरी, चितवन-भरतपुर, बुटवल लगायत पोखरा हुँदै यात्रा गर्न सक्ने सबै दाजुभाइ, दिदीबहिनी, साथीभाइ तथा इष्टमित्रहरूलाई सम्भव भएसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी यात्रा गर्न सबैले हार्दिक आह्वान गरौं,’ आचार्यको आह्वानमा भनिएको छ ।

एयरलाइन्सबाट प्राप्त जानकारीअनुसार काठमाडौंको तुलनामा पोखराबाट हवाई भाडा सस्तो रहेको आचार्यले उल्लेख गरेका छन् । उनले यात्रा गर्नुअघि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमार्फत भाडा तथा उडानको विवरण बुझ्न आग्रह गरेका छन् ।

भिसा तथा प्रहरी रिपोर्टलगायत आवश्यक प्रक्रियामा यात्रुलाई सहजता प्रदान गर्न सम्बन्धित निकायसँग समन्वय र सहजीकरण भइरहेको उनले बताएका छन् । भारतीय नागरिकलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर पोखरा पेन्सन क्याम्प कार्यालयबाटै उपलब्ध गराउन सकिए यात्रामा थप सहजता हुने भएकाले सम्बन्धित दूतावाससँग आवश्यक अनुरोध गरिएको पनि उनले उल्लेख गरेका छन् ।

समूहगत तथा व्यावसायिक यात्राका लागि विशेष सहुलियतको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ । विभिन्न संघसंस्था, व्यावसायिक समूह, कम्पनी तथा साथीहरूको समूह बनाएर दुबई भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय यात्राको योजना बनाउन पनि आह्वान गरिएको छ ।

आचार्यले पोखरा–दुबई उडानका विषयमा भइरहेका आलोचना, प्रश्न र खिसीट्यौलीबारे आफू जानकार रहेको बताएका छन् । तर, अहिलेको विषय कुनै व्यक्ति वा संस्थाको पक्ष वा विपक्षसँग जोडिएको विषय नभएको उनको भनाइ छ ।

‘मैले यस विषयमा भएका आलोचना, प्रश्न र खिसीट्यौली सबै देखेको र बुझेको छु । तर, अहिलेको विषय कुनै व्यक्ति वा संस्थाको पक्ष–विपक्षको विषय होइन । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यसँग जोडिएको विषय हो,’ उनले भनेका छन् ।

उनले सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई सफल र दिगो बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि स्थापित भएको भन्दै यसको सम्भावना तथा उपयोगिता प्रमाणित गर्न अहिलेको अवसर सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘सक्ने र अनुकूल हुने साथीहरूले समूह बनाएर पोखरा–दुबई यात्रा गरौं । पोखराबाट यात्रा गरौं, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सफल बनाउने अभियानमा सहभागी बनौं,’ आचार्यले आह्वान गरेका छन् ।

‘पोखरा तपाईं–हामी सबैको हो । यसको अन्तर्राष्ट्रिय भविष्य पनि हामी सबैको साझा जिम्मेवारी हो,’ उनको आह्वानमा भनिएको छ ।

Scroll to Top