मनाङको हिमलुङ हिमपहिरोमा १० बेपत्ता, प्रहरी घटनास्थलतर्फ जाँदै

पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्।

नेपाल प्रहरीले जनाए अनुसार ढिलो खबर प्राप्त भएकाकारण मनाङ प्रहरी त्यसतर्फ लागेको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पहिरोमा परेका सबै जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ तर पूर्ण पुष्टि हुन बाँकी छ।

उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ। एउटा हेलिकप्टरले उद्धारकर्ताहरूलाई घटनास्थलमा छाडेर फर्किएको छ भने अर्को हेलिकप्टर पुनः पठाउने तयारी भइरहेको छ।’

बेपत्ता भएका टोली अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत हिमाल आरोहण तथा भ्रमणका लागि त्यसतर्फ गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

Scroll to Top