पर्वतीय दौड सफल पार्न पुम्दी–भुम्दीवासीको सक्रियता

पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट भएका छन् ।

पुम्दी–भुम्दीको पर्यटन, खेल पर्यटन तथा स्थानीय क्षेत्रको समग्र प्रवद्र्धनसँग जोडिएको प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग, स्वयंसेवक परिचालन, धावक सहभागिता, स्वास्थ्य सेवा, खानेपानी तथा बाटोमा स्वागत–सत्कारलगायतका व्यवस्थापनमा स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाहरूले व्यक्त गरेका छन् ।

उनीहरूले प्रतियोगिता एउटा सामान्य खेलकुद कार्यक्रम मात्र नभई पुम्दी–भुम्दीको गाउँको इज्जत, प्रतिष्ठा र पहिचानसँग जोडिएको कार्यक्रम भएकाले यसलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

प्रतियोगिताले पुम्दी–भुम्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन र यहाँको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ ।

पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले विगतका वर्षदेखि प्रतियोगितालाई वडा तहबाट गर्दै आएको सहयोगलाई यस वर्ष पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले प्रतियोगिता पुम्दी–भुम्दीको पहिचानलाई विश्वसामु पु¥याउने महत्वपूर्ण माध्यम बन्दै गएको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

वडाध्यक्ष बरालले पुम्दी–भुम्दी पदयात्रा तथा पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको बताउँदै यस वर्ष ‘राउन्ड फेवा, भ्यु फेवा’ फुटट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। त्यसैगरी पुम्दी–भुम्दीमा पैदलमार्ग तथा फुटट्र्याक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)को सहकार्यमा करिब ५२ करोड रुपैयाँ बराबरका पदमार्ग निर्माणको काम अघि बढेको र टेन्डर समेत भइसकेको उहाँले बताउनुभयो ।

विश्व शान्ति स्तुप समितिका सचिव तथा पूर्वप्रधानपञ्च दुर्गबहादुर गुरुङले पुम्दी–भुम्दीको महत्व बुझ्न नसक्दा विगतमा गाउँबाट धेरै मानिस पलायन भएको स्मरण गर्नुभयो ।

जापानी गुरुबाट प्रभावित भएर आफू गाउँ फर्किएको र हाल गाउँमै होमस्टे सञ्चालन गरिरहेको स्मरण गर्दै उहाँले स्थानीय क्षेत्रमा खेल तथा पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमलाई निरन्तर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

विश्व शान्ति स्तुपबाट प्रतियोगिताको दौड सुरु हुने भएकाले सुरुवाती व्यवस्थापनमा समितिका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गुरुङले यसपालिको प्रतियोगितालाई पूर्ण रूपमा सफल बनाउन आफूहरू तयार रहेको बताउनुभयो ।

कालाबाङ घरेडी बुद्धपार्क समितिका अध्यक्ष राज गुरुङ ‘लाल’ ले गत वर्षका अनुभव र कमजोरीलाई समीक्षा गर्दै यस वर्ष व्यवस्थापनमा कुनै कमी हुन नदिन सुझाव दिनुभयो ।

आगामी तेस्रो संस्करणलाई अझ चुस्त र दुरुस्त बनाउनुपर्ने बताउँदै उहाँले विशेषगरी स्वास्थ्य सेवा, खानेपानी तथा धावकका आधारभूत आवश्यकतामा विशेष ध्यान दिन आयोजकलाई आग्रह गर्नुभयो । होमस्टे महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङले प्रतियोगिता सफल बनाउन आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घसँगै कालाबाङ सामुदायिक होमस्टे र भगवती प्राथमिक विद्यालयबाट समेत आवश्यक सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो । उक्त कार्यक्रमलाई आफ्नो कर्तव्य सम्झेर सफल बनाउनुपर्ने उहाँको भनाई थियो । पोखरा–२२ स्वास्थ्य चौकीका इन्चार्ज विदुर रेग्मीले प्रतियोगिताका क्रममा आवश्यक पर्ने स्वास्थ्यकर्मी व्यवस्थापनका लागि स्वास्थ्य चौकीबाट सहयोग गर्ने बताउनुभयो ।

महेश्वरी माध्यमिक विद्यालयका शिक्षक महेश बरालले प्रतियोगितालाई आफूहरूले गाउँकै कार्यक्रमका रूपमा लिएको बताउँदै विद्यालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पोखरा महानगरपालिका–२२ लाई खेलमैत्री वडाका रूपमा विकास गर्न वडाध्यक्षसमक्ष आग्रह समेत गर्नुभयो ।

प्रतियोगिताका संयोजक दीननाथ बरालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा पुम्दिकोट कोट विकास समितिका कार्यालय सचिव रुद्र पौडेलले प्रतियोगिताको मार्गमा रहेको विशाल महादेवको मूर्तिस्थलमा चेकपोइन्ट रहने भएकाले त्यसका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको बताउनुभयो ।

प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले आठ किलोमिटर दूरीको पर्वतीय दौड प्रतियोगिता यस क्षेत्रकै आकर्षक र विशेष प्रकृतिको प्रतियोगिता रहेको दाबी गर्नुभयो । प्राकृतिक सौन्दर्य र मनोरम दृश्यका कारण प्रतियोगिता धावक तथा दर्शकका लागि लोभलाग्दो बन्ने उल्लेख गर्दै उहाँले यसलाई पोखरा–२२ को नयाँ खेल पर्यटन ब्रान्डका रूपमा विकास गर्न सकिने बताउनुभयो ।

Scroll to Top