कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ बारे जानकारी दिने उद्देश्यले आज पोखरामा प्रेस मिट आयोजना गरिएको छ ।
प्रेस मिटमा खेलको उद्देश्यबारे जानकारी दिँदै आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले खेलबाट आर्जित मुनाफा भोटेकोशी बाढीबाट प्रभावितलाई सहयोग गर्ने जानकारी दिए । प्रतियोगिता तयारीका दौरान क्रियाशील पत्रकारहको हितलाई प्राथमिकता दिइएपनि हाल उद्देश्य परिवर्तन भएको उनको भनाई छ ।
त्यस्तै पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भन्दै श्रेष्ठले प्रदेशका टिमलाई पोखरामा स्वागत गर्न आतुर रहेको जनाएका छन् ।
‘प्रतियोगिता प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले खुला खेलको अवधारणामा सञ्चालन गरिनेछ’, श्रेष्ठले भने ।
प्रेस मिटमा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी प्रदेश अध्यक्ष एमबी आस्था र जिल्ला खेलकुद विकास समिति, कास्की अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका छन् ।
प्रेस मिटमा दिइएको जानकारी अनुसार सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
कल्पका अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशबाहिरबाट समेत विभिन्न जिल्लाका पत्रकारले प्रतियोगितामा सहभागी हुने इच्छा देखाएपछि उनीहरूलाई गण्डकी प्रदेशभित्रका जिल्लाबाट प्रतिनिधित्व गराएर प्रतियोगितामा सहभागिता जनाउने व्यवस्था गरिएको बताए ।
प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेश तथा अन्य जिल्लाबाट आउने खेलाडीलाई सहज होस् भन्ने उद्देश्यले आयोजकले विशेष व्यवस्थापन गरेको जनाएको छ ।
कास्कीबाहेकका जिल्लाबाट सहभागी हुने टोलीका लागि आयोजकले दुई छाक खाना र एक रातको बसोबासको व्यवस्था गर्नेछ । यातायात खर्च भने सम्बन्धित टोली वा खेलाडीले स्वयं व्यहोर्नुपर्नेछ ।
जिल्लाबाट सहभागिता जनाउने टोलीलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यातायात तथा तयारी खर्चका लागि खेल संघहरूसँग सहजीकरण र सहयोगका लागि प्रदेश खेलकुद परिषद् गण्डकीमार्फत पत्राचारसमेत भइसकेको आयोजकले जनाएको छ ।
पत्रकारितामा सक्रिय रहे पनि परिचयपत्र नभएका खेलाडीको हकमा सम्बन्धित नेपाल खेलकुद पत्रकार मञ्च वा नेपाल पत्रकार महासंघको जिल्ला शाखाबाट सिफारिस ल्याउनुपर्नेछ ।
त्यस्तै, खेलका क्रममा वा खेलपछि कुनै टोलीले खेलाडीको सहभागितामाथि आपत्ति वा विवाद गरेमा त्यसको जिम्मेवारी सम्बन्धित जिल्ला शाखा वा खेलकुद पत्रकार मञ्चको हुने आयोजकले स्पष्ट पारेको छ ।
प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बीमासमेत गरिने बताउँदै अध्यक्ष श्रेष्ठले सहभागी टोलीलाई बीमाको प्रक्रिया पूरा गर्न आवश्यक खेलाडी विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि यसअघि भदौ २० गतेसम्म टिम दर्ता गर्ने समयसीमा तोकिएको थियो । तर, देशको पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गर्दै दर्ताको समय केही दिन तलमाथि हुन सक्ने आयोजकले जनाएको छ ।
परिस्थितिका कारण निर्धारित समयभित्र दर्ता गर्न नसकेका इच्छुक टोलीलाई केही दिन थप समय दिन सकिने भए पनि प्रतियोगिताको खेल सञ्चालन हुने मिति भने परिवर्तन नहुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे ।
‘अहिलेको विषम परिस्थितिलाई हेरेर टिम दर्ताको समय केही दिन तलमाथि हुन सक्छ,’ श्रेष्ठले भने, ‘तर प्रतियोगिता असोज २ र ३ गते नै हुन्छ । तीन–चारवटा टोलीले मात्र दर्ता गरे पनि खेल तोकिएकै समयमा सञ्चालन हुन्छ ।’
प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।्प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सफल बनाउन विभिन्न संघ–संस्था तथा व्यवसायिक प्रतिष्ठानले समेत सहकार्य गरेका छन् । प्रतियोगिताको प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर १२ र कफीे डि हिमालयज रहेका छन् ।
त्यस्तै, सहयोगी संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति – कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति र पोखरा महानगरपालिका – वडा नम्बर ३ रहेका छन् ।
प्रतियोगिताको प्रवद्र्धकका रूपमा परिचय एडभर्टाइजिङ् र लिड्स इभेन्ट्स रहेका छन् भने एडभेन्चर पार्टनरका रूपमा गो बन्जी र प्रिन्टिंग पार्टनरमा पीएम सोलुसन रहेको छ ।
प्रतियोगिताको मेडिकल पार्टनरका रूपमा गण्डकी मेडिकल कलेज तथा हस्पिटालिटी पार्टनरका रूपमा चाइनिज गार्डेन रेष्टुरेन्ट एण्ड बार रहेको आयोजकले जनाएको छ ।
त्यस्तै, प्रेस मिटको भेन्यू पार्टनरमा सफल ब्यान्केट, अमरसिंह चौरको साथ रहेको छ ।
विभिन्न संस्था तथा प्रतिष्ठानको सहकार्यले प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा थप सहजता पुग्ने आयोजकको विश्वास छ ।







