रसुवा बाढीमा परेर ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका– १६ जौबारीस्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।
बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चीरशान्तिको कामना गर्दै १३औँ पुण्यतिथिको अवसरमा धार्मिक विधिअनुसार स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको स्मरण गर्दै सहभागीहरूले विपद्मा ज्यान गुमाएकाहरूको सम्झना र परिवारजनको पीडाप्रति राज्य तथा समाजले निरन्तर साथ दिनुपर्नेमा जोड दिए ।
१३औँ पुण्यतिथिका अवसरमा गरिएको दीप प्रज्वलनले दिवंगतहरूको सम्झनालाई जीवन्त राख्दै उनीहरूप्रति श्रद्धा र सम्मान व्यक्त गरिएको आयोजकले जनाएको छ ।
यस कार्यक्रमकालागि पोखरा महानगरले सम्पूर्ण नगरवासी, संघसंस्था, सामाजिक अभियन्ता तथा सरोकारवालासमक्ष आइतबार अपील गरेको थियो ।
जौबारीमा पोष्टमार्टमका लागि ल्याइएका तर हालसम्म परिवारजनलाई हस्तान्तरण गर्न नसकिएका ७८ वटा शव व्यवस्थापन गरिएको छ ।







