लाङटाङतर्फ गएका तीन मलेसियाली पर्यटक अझै सम्पर्कविहीन

अघिल्लो बुधबार रसुवाको भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा आएका तीन जना मलेसियाली पर्यटक अझै सम्पर्कविहीन छन् ।
अझैसम्म पनि सम्पर्क हुन नसकेका उनीहरु मुहम्मद जाकी, मुहम्मद आदिब र मुहम्मद मुहाइमिन रहेका छन्।

उपलब्ध सूचनाअनुसार उनीहरूको अन्तिम ज्ञात स्थान रसुवाको स्याफ्रुबेँसी रहेको थियो। उनीहरू त्यहाँबाट लाङटाङ उपत्यकातर्फ जाने क्रममा रहेको बताइएको छ।

बेपत्ता पर्यटकहरूको अवस्थिति पत्ता लगाउन सहयोगका लागि उनीहरूका तस्बिरसहितको सूचना सार्वजनिक गरिएको छ।

स्याफ्रुबेँसी–लाङटाङ पदयात्रा मार्गमा हालै यात्रा गरेका, उक्त क्षेत्रमा रहेका स्थानीय चियाघर वा आवासमा बसेका व्यक्तिहरू तथा उनीहरूको अवस्थिति सम्बन्धी कुनै जानकारी भएका व्यक्तिलाई सम्बन्धित स्थानीय प्रशासन वा खोज तथा उद्धार टोलीलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

खोजी तथा उद्धारमा संलग्न निकायका लागि सामान्य वा सानो जस्तो देखिने सूचना पनि महत्वपूर्ण हुन सक्ने भएकाले सम्भावित जानकारी भएका सबैलाई सहयोग गर्न आग्रह गरिएको छ।

Scroll to Top