आगामी २३ सेप्टेम्बर देखि सुरु हुने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाई दुबई (दुबई एभिएसन कर्पोरेसन)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
हवाई सेवाको प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई पक्षबीच यो समझदारी गरिएको हो ।
हस्ताक्षर भएको समझदारीपत्रमा पोखरा महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया र फ्लाईदुबईको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए)को तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईले हस्ताक्षर गरे ।
यो समझदारीपत्र एक महिनाका लागि लागू हुने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार महानगरले उपलब्ध सार्वजनिक तथा नगरपालिका स्वामित्वका प्रचारस्थलमा फ्लाई दुबईका प्रचार सामग्री राख्न १५ दिनसम्म निःशुल्क स्थान उपलब्ध गराउनेछ ।
सडकका पोलमा विज्ञापन गर्ने स्थान, सार्वजनिक प्रदर्शनस्थल, महानगरका परिसरलगायत दुवै पक्षले सहमति गरेका स्थानमा प्रचार गर्न सकिने एमओयूमा उल्लेख छ ।
पोखरा–दुबई हवाई सेवा संचालनले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
महानगरपालिका र फ्लाई दुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पनि पर्यटन प्रवर्द्धन, गन्तव्य बजारीकरण र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार लगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारी गरे ।







