पोखरा विश्वविद्यालयको रजिस्ट्रार पदमा प्राडा निर्मला जमरकट्टेल नियुक्त भएकी छन् ।
उपकुलपति देवेन्द्र अधिकारीले उनलाई विश्वविद्यालयको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी मंगलबार नियुक्त गरेका हुन् । छनोट तथा सिफारिस समितिको सिफारिस अनुसार यो निर्णय भएको हो ।
जमरकट्टेल पोखरा विश्वविद्यालयकै स्वास्थ्य विज्ञान संकायमा लामो समयदेखि प्राध्यापनरत छिन् । उनले स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजमा प्राध्यापकका रूपमा काम गर्दै आएकी छन् ।
उनले जडीबुटी विज्ञान अर्थात् हर्बोलोजी विषयमा पिएचडी गरेकी छन् । उनको मुख्य शिक्षण विषय नेचुरल प्रोडक्ट्स केमेस्ट्री र स्पेक्ट्रोस्कोपी हो ।
अनुसन्धानको क्षेत्रमा पनि उनी निकै सक्रिय छिन् । उनले हर्बल औषधि विकास र न्युरोप्रोटेक्टिभ एजेन्ट जस्ता विषयमा गहन खोज गरेकी छन् । परम्परागत जडीबुटीको गुणस्तर र त्यसको वैज्ञानिक प्रयोगका क्षेत्रमा उनले काम गर्दै आएकी छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शोधपत्रहरूमा उनका दर्जनौँ अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् ।
यसअघि उनले स्वास्थ्य विज्ञान संकायको कायममुकायम डिनको जिम्मेवारी सफलतापूर्वक सम्हालेकी थिइन् ।







