राहत कोषमा हरिहर महिला समूह डुम्रेको ५० हजार सहयोग

भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार र राहतका लागि हरिहर महिला समूह डुम्रेले ५० हजार १५५ रुपैयाँ सहयोग गरेको छ।

समूहले उक्त रकम नेपाल बैंक लिमिटेड, डुम्रेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

समूहले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

देश विपद्को अवस्थामा रहेका बेला सरकारको उद्धार तथा राहत कार्यमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको समूहकी सचिव सुषमा श्रेष्ठ पियाले जानकारी दिएकी छिन् ।

Scroll to Top