शुक्रबार बिहानसम्म ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले शुक्रबार बिहानसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको हो।

प्रहरीका अनुसार बाढीमा बगेर आएका शव रसुवासहित तल्लो तटीय क्षेत्रका विभिन्न आठ जिल्लामा फेला परेका हुन्।

सबैभन्दा बढी चितवनमा १७८ र नवलपरासी (पूर्व)मा ११० जनाको शव फेला परेको छ। यस्तै गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम)मा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ५४५ जनाको घाइते तथा जोखिममा परेका नागरिकको उद्धार गरिएको छ। जसमध्ये नुवाकोटबाट ८९८, रसुवाबाट ६४४ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा ८४ जना घाइतेको उपचार भइरहेको छ भने केही उपचारपछि डिस्चार्ज भइसकेका छन्।

उद्धार तथा खोजी कार्यका लागि प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। बाढीका कारण २८ जना प्रहरी कर्मचारी अझैसम्म सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।

Scroll to Top