राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
विभिन्न माग राखेर पाँच दिनदेखि ललितपुरको पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना बसेकाहरुको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकको स्वास्थमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ ।
आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘धर्नामा बसेकाहरुको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा प्रदर्शनरतको सुरक्षार्थ निजहरूलाई उचित स्थानमा स्थानान्तर गर्न र निजहरूको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’
समस्या समाधानका लागि नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालको तर्फबाट वार्ता टोली गठन भएकामा आयोगले यसलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।
साथै, हरेक समस्याको समाधान वार्ता र संवादबाटै संभव भएकाले दुवैतर्फका समितिले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्नसमेत आयोगले अनुरोध गरेको छ ।







