गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/३ मा आन्तरिक राजस्व सङ्कलनतर्फ निर्धारित लक्ष्यको ७२ दशमलव ८७ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाका अनुसार गत आर्थिक वर्षमा चार अर्ब १७ करोड ८८ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले पाँच अर्ब ७३ करोड ४३ लाख ८८ हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
प्रदेशको मुख्य आय भने सवारी कर भएको छ । प्रदेशले यसपटक सबैभन्दा बढी सवारीसाधन करतर्फ एक अर्ब २० करोड ६९ लाख १६ हजार संकलन गरेको छ ।
उक्त करलाई मुल्यांकन गर्दा लक्ष्यको ८७ दशमलव ४६ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
यद्यपि, यस शीर्षकमा एक अर्ब ३८ करोडको लक्ष्य राखिएको थियो । यस्तै, घरजग्गा रजिस्ट्रेसनबाट ९१ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन भएको छ ।
यस्तै, विज्ञापन कर सङ्कलन उत्साहजनक देखिएको छ । २२ लाख ७८ हजार लक्ष्य राखिएको यस शीर्षकमा ३२ लाख दुई हजार सङ्कलन भएको छ ।
कृषि आयमा लाग्ने करमा भने लक्ष्यको २१ दशमलव ४८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । २० लाख लक्ष्य राखिएकामा चार लाख ९५ हजार मात्रै सङ्कलन भएको छ ।
पर्यटन तथा पदयात्रा शुल्कबाट १४ लाख ६९ हजार अर्थात लक्ष्यको २४ दशमलव ६९ प्रतिशत मात्रै प्राप्त भएको छ ।
ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको बिक्रीबाट १९ करोड ७२ लाख ३४ हजार, मनोरञ्जन करतर्फ ३४ लाख ४५ हजार र यातायात क्षेत्रको अन्य आम्दानीबाट ५५ करोड ४० लाख ५३ हजार राजस्व सङ्कलन भएको छ ।
केही क्षेत्रको राजस्व सङ्कलन कमजोर रहे पनि प्रमुख शीर्षकमा भएको उल्लेख्य वृद्धिका कारण प्रदेशको समग्र आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक रहेको उपाध्यक्ष डा। देवकोटाले जानकारी दिए ।







