लेखनाथको शिशुवा प्रहरी कार्यालय क्षेत्रअन्तर्गत खोला तर्ने क्रममा एक जना व्यक्ति बेपत्ता भएका छन्। खोजीमा खटिएको टोली साँझ ६ः३० बजे फर्किए पनि उनी फेला नपरेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–२५ हेम्जाकी ४३ वर्षीया धनमाया सम्पर्कविहीन भएकी छन्। साउन २९ गते साँझ करिब ७ बजे अत्यधिक मदिरा सेवन गरी घरबाट निस्किएकी उनी हालसम्म घर नफर्किएको र आफन्तको सम्पर्कमा पनि नआएको प्रहरीले जनाएको छ।
अन्नपूर्ण गाउँपालिका–१० स्थित सिमैखोलामा गएको पहिरोका कारण सडक अवरोध यथावत रहेको छ। पहिरो हटाउने प्रयास भइरहे पनि सडक सञ्चालनमा आउन सकेको छैन।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–१० स्याउलीबजारमा रहेको स्याउलीबजार र वडा नम्बर ७ हवेली जोड्ने लामे झोलुंगे पुलमा बाढीले क्षति पुर्याएको छ। पुलको स्याउलीबजारतर्फको भाग बगाउँदा संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। पुलको अवस्था अझै यथावत रहेको छ।
उता, माछापुच्छ्रे गाउँपालिका–१ तातोपानीमा सेती नदीले सडक कटान गर्दा भित्री कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। तातोपानी, करुवा र मिर्चा हुँदै भलौदी जाने सडकखण्डमा करिब १०० मिटर सडक नदीले बगाएको जानकारी साउन ३० गते साँझ ६ बजे प्राप्त भएको थियो।
त्यसपछि सार्दिखोला प्रहरी चौकीबाट प्रहरी वरिष्ठ हवल्दार टिकाराम गुरुङको कमान्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको छ। स्थानीयसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उक्त स्थान वडा प्रहरी कार्यालय बगरबाट करिब १५ किलोमिटर उत्तरमा पर्छ।
यता, पोखरा महानगरपालिका–१६ जोगिमणिमा नालीमा डुबेका एक पुरुषको मृत्यु भएको छ। स्थानीय ६० वर्षीय हिरा बहादुर सुनार घरदेखि करिब १०० मिटर टाढा नालीमा अचेत अवस्थामा फेला परेका थिए।
उनका छोरा अर्जुन सुनारले उनलाई उद्धार गरी उपचारका लागि मातृशिशु अस्पताल पोखरा पुर्याएका थिए। अस्पतालमा परीक्षणका क्रममा साउन ३१ गते राति १२ः१२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि लामाचौरबाट प्रहरी हवल्दार ताराप्रसाद चौधरीको कमान्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। उक्त स्थान वडा प्रहरी कार्यालय बगरबाट करिब ३ किलोमिटर उत्तरमा पर्छ। राति २ः३० बजे शव मणिपाल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका दुई बालक हालसम्म फेला पर्न सकेका छैनन् ।
बेपत्ता हुनेमा जिल्ला खोटाङ, खोटाङ नगरपालिकाका घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथेमा डेरा गरी बस्ने सुवास राईका १५ वर्षीय छोरा ओमन राई रहेका छन्।
त्यस्तै, जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–१४ छिनेडाँडा आर्मी प्लटिङमा बस्ने चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ रहेका छन्।







