प्रहरी श्रीमती संघ गण्डकीको वार्षिकोत्सवमा रक्तदान, ६९ सहभागी

‘रक्तदान जीवनदान: जीवनदान महादान’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको ४२ औँ वार्षिकोत्सवको अवसरमा पोखरा-८ चिप्लेढुंगा स्थित खुल्ला क्षेत्रमा आयोजना गरिएको उक्त कार्यक्रममा ६९ जनाले रक्तदान गरे।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा पोखरा र गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जीसीले नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी सदस्य विन्दु बराल पौडेललाई रक्त झोला हस्तान्तरण गरी गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक जीसीले अस्पतालको शैयामा जीवनका लागि संघर्ष गरिरहेका बिरामीका लागि रक्तदान जीवनदान सरह हुने बताए। उनले रक्तदानलाई जीवनकै महादान सम्झेर यस मानवीय कार्यमा सहभागी हुन सबैलाई आग्रह समेत गरे।

त्यसैगरी, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी सचिव रबिना पराजुलीले रक्तदान कार्यक्रममा सहयोग तथा सहभागिता जनाउने सम्पूर्णमा धन्यवाद व्यक्त गरिन्। उनले आगामी दिनमा समेत यस्ता सामाजिक कार्यमा सहकार्यलाई निरन्तरता दिने बताइन्।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा पोखराका प्राविधिक प्रमुख महेन्द्र केसीले रक्तदानले बिरामीको उपचारमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए।

उक्त रक्तदान कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराका पदाधिकारी, पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारी, संघ संस्थामा आबद्ध पदाधिकारी र आम नागरिक समेत गरी जम्मा ६९ जनाले रक्तदान गरे।

Scroll to Top