खौलालाँकुरी पोखराको रक्तदानमा ५४ युनिट संकलन

खौलालाँकुरी पोखरा सम्पर्क समाजले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । समाजले आफ्नो स्थापनाको आठौं वर्ष प्रवेशका अवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

२०७६ मा कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको समाजको यो तेस्रो रक्तदान कार्यक्रम हो । समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बस्नेहरुको एउटा साझा संस्था हो ।

रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका– ८ का अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे । उक्त अवसरमा अध्यक्ष बरालले समाजलाई आफुले नजिकबाट नियालीरहेको बताए ।

‘सम्पर्क समाज सामाजिक कार्यक्रमलगायत मानवीय सेवामा पनि सक्रिय रहेको देख्दा खुशी लागेको छ’, अध्यक्ष बरालले भने, ‘रक्तदान जीवनदान, जीवनदान महादान अभियानलाई निरन्तरता दिनु सुखद पक्ष हो ।’

उनले कोही कसैलाई कुनै पनि प्रकारको दुखसुख वा समस्या पर्दा समाज चाहिने र समाजका यस्ता सामाजिक कार्यहरुले समाजको वास्तविक अनुभूती हुने बताए । समाजका यस्ता गतिविधिहरुमा आफ्नो र वडा कार्यालयको सधै साथसहयोग रहने उनको भनाई थियो ।

समाजका अध्यक्ष लालप्रसाद शर्माले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

मन, बचन र कर्मले सहयोग गरेमा समाजले आयोजना गर्ने सामाजिक काम सफलतापूर्वक सम्पन्न हुने भन्दै उनले समाजले वार्षिक क्यालेन्डर जस्तै बनाएर केही निश्चित काम गर्दै आएको उल्लेख गरे ।

समाजका सदस्यहरुका कारण संस्थाले आयोजना गर्दै आएका कार्यक्रम आशातित सफल हुदै गएको भन्दै उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

रक्तदान कार्यक्रमका संयोजक अनिल सुवेदीले स्वागत गर्दै संस्थाको परिचय गराएका थिए । उनले आगामी दिनमा सामाजिक तथा मानवीय कार्यहरुलाई निरन्तरता दिने जनाए ।

समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले स्थापनाको छोटो अवधिमा समाज सामाजिक काममा अग्रसर भएकोमा खुशी व्यक्त गरे । सबैको साथसहयोगबाट नै समाज निरन्तर अघि बढिरहेको उनको भनाई थियो ।

रक्तदान गर्नेमध्ये रामप्रसाद सुवेदीले ८५ औं पटक, राजेन्द्र तिमिल्सिनाले ५३ औं पटक दिपकप्रसाद तिमिल्सिनाले ४० औं पटक सहभागी भएका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव गंगाकुमारी कार्कीले गरेकी थिइन् ।

समाजले स्थापना दिवसका अवसरमा यही साउन २६ गते मानव सेवा आश्रम छोरेपाटनमा आश्रित आमाहरुलाई खाना खुवाउने कार्यक्रमसमेत आयोजना गरेको छ ।

Scroll to Top