श्रम र देहव्यापार प्रयोजनार्थ अझै बेचिँदैछन् चेलीहरु – सर्वेक्षण

मानव बेचबिखन विरुद्ध माइती नेपालले नेपालका विभिन्न प्रमुख सीमा नाकाहरूमा यात्रा गरिरहेका नागरिकहरूबीच एक नमूना सर्वेक्षण सम्पन्न गरेको छ ।

गत १५ जुलाईदेखि २५ जुलाईसम्म गरिएको सो अध्ययनले मानव बेचबिखनबारे जनचेतना बढे पनि सुरक्षित निर्णय र सहायता सेवाबारे थप सशक्तिकरण आवश्यक रहेको देखाएको छ ।

कुल ४१२ जना उत्तरदाता सहभागी रहेको यस सर्वेक्षणमा अधिकांश १८ देखि २४ वर्ष उमेर समूहका ५१.२ प्रतिशत रहेका छन् । त्यसैगरी २०.४ प्रतिशत १८ वर्षमुनिका, ३४.५ प्रतिशत २५ देखि ४० वर्ष र ३ प्रतिशत ४० वर्षभन्दा माथिका रहेका छन् ।

अध्ययनका अनुसार अधिकांश उत्तरदाता रोजगारी, परिवार भेटघाट, शिक्षा तथा पर्यटनका लागि यात्रा गरिरहेका थिए ।

सर्वेक्षणले मानव बेचबिखनबारे आधारभूत जानकारी भएका व्यक्तिको संख्या उत्साहजनक रहेको देखाएको छ । ९१.५ प्रतिशत उत्तरदाताले मानव बेचबिखनबारे आफूलाई जानकारी रहेको बताए भने थप १६.७ प्रतिशतले केही जानकारी रहेको खुलाए ।

यसले विगतका वर्षहरूमा भएका जनचेतनामूलक अभियानहरूको सकारात्मक प्रभाव देखाए पनि विषयको गहिरो बुझाइ अझै सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

मानव बेचबिखनका स्वरूपबारे जानकारी भएका उत्तरदातामध्ये ७२.४ प्रतिशतले जबर्जस्ती श्रम, ७१.७ प्रतिशतले अंग व्यापार, ५६.१ प्रतिशतले जबर्जस्ती विवाह तथा ५३.१ प्रतिशतले झुटो वैदेशिक रोजगारीको प्रलोभन मानव बेचबिखनका रूपहरू भएको बताए । यसले मानव बेचबिखनलाई केवल यौन शोषणसँग मात्र जोडेर हेर्ने प्रवृत्तिमा क्रमशः सुधार भइरहेको संकेत गरेको छ ।

सूचनाको स्रोतका रूपमा सामाजिक संजाल ७३.१ प्रतिशतसहित सबैभन्दा प्रभावकारी माध्यम देखिएको छ ।

त्यसपछि विद्यालय तथा कलेज ६९.२ प्रतिशत, टेलिभिजन तथा रेडियो ४९.५ प्रतिशत, परिवार तथा साथीभाइ ३७.१ प्रतिशत र सरकारी तथा गैरसरकारी संस्थाका सचेतनामूलक कार्यक्रम ३४.७ प्रतिशत रहेका छन् । सीमा क्षेत्रमा संचालन हुने सचेतना अभियानबाट २०.४ प्रतिशत उत्तरदाताले जानकारी प्राप्त गरेको बताए ।

मानव बेचबिखनका सम्भावित संकेतबारे सोधिएको प्रश्नमा ९३.४ प्रतिशत उत्तरदाताले झुटो रोजगारीको प्रलोभन प्रमुख संकेत भएको बताए । त्यस्तै ६८.२ प्रतिशतले झुटो विवाहको प्रस्ताव, ६२.१ प्रतिशतले इच्छा विपरीत काम गर्न बाध्य बनाइनु तथा २५.५ प्रतिशतले नागरिकता वा राहदानी जफत गरिनुलाई सम्भावित जोखिमका संकेतका रूपमा पहिचान गरेका छन् ।

विदेश वा अर्को सहरमा उच्च तलबको रोजगारीको प्रस्ताव आएमा गर्ने पहिलो कदमबारे सोधिएको प्रश्नमा ४७.३ प्रतिशत उत्तरदाताले प्रस्ताव र रोजगारदाताको सत्यता पुष्टि गर्ने बताए भने ४३.४ प्रतिशतले परिवारसँग छलफल गर्ने बताए ।

यद्यपि, केवल १६.३ प्रतिशत उत्तरदाताले मात्र विश्वासिलो संस्था वा सम्बन्धित निकायसँग सम्पर्क गर्ने बताएका छन् । यसले जोखिमपूर्ण अवस्थाहरूमा आधिकारिक सहायता सेवा र परामर्श प्रणालीबारे जनचेतना अझै विस्तार गर्नुपर्ने आवश्यकता देखाउँछ ।

सर्वेक्षणले अधिकांश उत्तरदाताले जोखिममा पर्दा कहाँबाट सहयोग लिन सकिन्छ भन्ने जानकारी रहेको बताएका भए पनि केही उत्तरदाताले आफूलाई त्यस्तो जानकारी नभएको बताएका छन् । यसले विशेषगरी युवा तथा जोखिममा रहेका समुदायलाई लक्षित गरी सहायता सेवा, हेल्पलाइन तथा सम्बन्धित निकायबारे थप जानकारी प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

यस सर्वेक्षणका निष्कर्षहरूले नेपालमा मानव बेचबिखन सम्बन्धी आधारभूत जनचेतना बढ्दै गएको देखाए पनि डिजिटल माध्यमबाट हुने प्रलोभन, सुरक्षित वैदेशिक रोजगारी, सुरक्षित बसाइँसराइ तथा सहायता सेवामा पहुँचका विषयमा अझ प्रभावकारी र लक्षित जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको पुष्टि गरेका छन् ।

Scroll to Top