पोखरा ट्रेड मलको १४ औं वार्षिकोत्सव: ‘ग्राण्ड फेस्ट २०८३’ आयोजना हुने

पोखराको चिप्लेढुंगास्थित पोखरा ट्रेड मल एण्ड हाउजिंग प्रालिले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘ग्राण्ड फेस्ट २०८३’ आयोजना गर्ने भएको छ ।

मलले साउन २२ देखि २४ गतेसम्म तीन दिन उक्त कार्यक्रम आयोजना गर्न लागेको आज जानकारी दिएको छ ।

पोखराका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका व्यवसायीहरूको सामूहिक लगानीमा निर्माण गरिएको यो मल गण्डकी प्रदेशकै प्रमुख व्यापारिक गन्तव्यका रूपमा स्थापित छ ।

०७२ असोज २६ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस मलमा हाल ५०० भन्दा बढी व्यावसायिक सटरहरू रहेका छन् ।

वार्षिकोत्सवको अवसरमा आयोजना हुने ‘ग्राण्ड फेस्ट’मा आकर्षक ‘फुड कोर्ट’हरू सञ्चालन गरिने र त्यहाँ स्थानीयदेखि अन्तर्राष्ट्रिय परिकारहरूको स्वाद लिन सकिने मलले जनाएको छ ।

कार्यक्रममा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछन् । मलमा रहेका विभिन्न प्रतिष्ठित ब्राण्ड तथा व्यवसायीहरूले ती तीन दिन विशेष छुटका साथै आकर्षक सेल सञ्चालन गर्नेछन् ।

यस कार्यक्रमले ग्राहकलाई किनमेल, मनोरञ्जन र पारिवारिक रमाइलोको उत्कृष्ट अवसर प्रदान गर्ने मलका अध्यक्ष दीपककुमार मुल्मीले जानकारी दिए ।
मलमा सुनचाँदीका गरगहना, रेडिमेड फेन्सी कपडा, कस्मेटिक्स, इलेक्ट्रोनिक सामग्री लगायतका विभिन्न उपभोग्य वस्तुहरू उपलब्ध छन् । साथै, यहाँ सञ्चालित दुईवटा आधुनिक मल्टिप्लेक्स चलचित्र घर, विभिन्न रेस्टुरेन्ट, फुड कोर्ट, लेडिज तथा जेन्स् हेयर सेलुन सेवा दिइरहेका छन् ।

मलमा नेपालका प्रतिष्ठित पाँचभन्दा बढी शैक्षिक परामर्श संस्थाहरूले समेत सेवा उपलब्ध गराउँदै आएका छन् ।

पोखरा ट्रेड मलले स्थापनाकालदेखि नै प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यस अन्तर्गत विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण र उत्कृष्ट व्यवसायी सम्मान जस्ता कार्यक्रम गर्ने गरिएको बताइएको छ ।

Scroll to Top