देशभर डेङ्गु सङ्क्रमण तीव्र, गण्डकी उच्च जोखिममा

देशभर डेङ्गु सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएको छ। चालु वर्षको पुसयता ७२ जिल्लामा दुई हजार २५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सबैभन्दा बढी संक्रमित कोशी प्रदेशमा ५६८ जना रहेका छन्।

त्यसपछि गण्डकीमा ५३२, बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेशमा ७२ र कर्णाली प्रदेशमा ४२ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

महाशाखाले वर्षायाममा पानी जम्ने स्थान बढेसँगै डेङ्गु सार्ने लामखुट्टेको प्रजननसमेत तीव्र हुने भएकाले संक्रमणको जोखिम अझ बढ्ने चेतावनी दिएको छ।

त्यसैले घर, आँगन तथा वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट जोगिन पूरा बाहुलाका कपडा लगाउने, झुलको प्रयोग गर्ने तथा ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण र उपचार गराउन आग्रह गरिएको छ।

डा. दाहालका अनुसार वर्षायाममा डेङ्गुको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले साउनदेखि तीन महिनासम्म सञ्चालन हुने डेङ्गु सचेतना अभियान सुरु गरेको छ।

महाशाखाले डेङ्गु नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह र समुदायबीच समन्वय र सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सचेतना अभियानलाई प्रभावकारी बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

Scroll to Top