संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले विधेयकमा आधुनिक पदमार्ग, आरोग्य पर्यटन, सांस्कृतिक र सहासिक पर्यटकलगायतका बहुआयामिक विषयबस्तुलाई समेटिनुपर्ने आवश्यकता औल्याए ।
मन्त्री पौडेलले तीन वर्षअघि ड्राफ्ट भएको पर्यटन विधेयक राष्ट्रियसभामा पेस भई प्रतिनिधिसभामा आएको भए त्यसमा विस्तृत संशोधन जरुरी रहेको बताए। उनले भने, ‘पर्यटनको प्रशस्त सम्भावना बोकेको देशलाई व्यवस्थित बनाउने बलियो कानुन आवश्यक छ, विधेयकमाथि सरोकारवालबीच छलफल र सांसदबाट आवश्यक सुझाव चाहिन्छ ।’
समितिमा उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिदै सांसदले सरोकारवाला, पर्यटन क्षेत्रका जानकार, व्यवसायी र सम्बन्धित सङ्घसंस्थासँग छलफल गरी विधेयकलाई गुणस्तरीय तुल्याउन सुझाव दिए ।
त्यसअवसरमा समिति सभापति सुम्नीमा उदासले तीन तहको सरकारको साझा अधिकारसँग जोडिएको पर्यटक विधेयक निर्माणदेखि कार्यान्वयनसम्मको अवस्थालाई मध्यनजर गरी संशोधन गर्नुपर्ने बताईन् । सांसद जगदीश खरेल ललितपुरले उक्त विधेयक देशको विकास र समृद्धिसँग जोडिएकाले यसलाई जति सक्दो छिटो कानुनी रुप दिनुपर्ने बताए ।
सांसद गणेशबहादुर विश्वकर्माले पर्यटन क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष समेत समेट्ने गरी विधेयक ल्याइनुपर्ने धारणा राखे । सांसद भूमिका लिम्बू सुब्बाले विधेयकमा बहुसांस्कृतिक संग्रालयको अवधारणा समेट्न सुझाव दिईन् ।
सांसद अनुश्का श्रेष्ठले विधेयकको सैद्धान्तिक छलफलकै चरणमै सरोकारवालाबीच पर्याप्त छलफल चलाएर सुझाव लिन सल्लाह दिईन् ।
प्रतिनिधिसभा सदस्य वीना गुरुङ, डा अर्जुनकुमार कार्की, श्रीधर पोखरेललगायतले युग सुहाउँदो पर्यटन क्षेत्रको विकास र विस्तारका लागि विधेयकलाई प्रभावकारी र गुणस्तरीय तुल्याउन आवश्यक रहेको धारणा राखे । रासस







