यस वर्षको मनसुन सक्रिय भएसँगै कालीगण्डकी नदी लगायतका खोलाहरूमा जल सतह बढेपछि मुस्ताङको बेनी–जोमसोम–कोरला सडक खण्डमा सवारी संचालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना जारी गर्दै सुरक्षित यात्राका लागि रातिको समयमा सवारी साधन चलाउन रोक लगाएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले साउन १९, २० र २१ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन संचालन नगर्न र नगराउन निर्णय गरेको छ ।
यो प्रतिबन्ध कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक खण्डको काभ्रेभीरदेखि जोमसोम र जोमसोमदेखि लोमान्थाङ सडक खण्डमा लागू हुने प्रशासनले जनाएको छ ।
गत साउन १६ गते रातिदेखि मुस्ताङ जिल्ला लगायत आसपासका क्षेत्रहरूमा भारी एवं मध्यम वर्षा भइरहेको छ । वर्षाका कारण कालीगण्डकी नदी लगायत अन्य खोलाहरूमा जल सतह बढ्दा उक्त सडक खण्डहरूमा बाढी तथा पहिरोको जोखिम बढेको सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले तोकिएको समयमा सवारी साधन संचालन नगर्न र यात्रा गर्दा उच्च सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरे ।







