फुटको संघारमा पुगेको कांग्रेसलाई जोड्न युवा नेताले थाले अभियान

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख बनेपछि युवा नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन दबाबमूलक ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेविसंघका पूर्वअध्यक्षद्वय नैनसिंह महर र रन्जित कर्णसहितका युवा नेताहरूले ‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ भन्ने नाराका साथ पार्टीलाई विभाजनबाट जोगाउन दबाबमूलक एकता अभियान सुरु गरेका हुन्।

पूर्वअध्यक्ष महरले पार्टीभित्र लामो समयदेखि बढ्दै गएको मतभेद, अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बन्दै गएको बताए। कांग्रेस अहिले पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको बताउँदै उनले एकताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा राखे।

‘लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ। आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको छ,’ उनले भने, ‘नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक-पटक प्रमाणित गरेको छ, जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ। जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ।’

उनका अनुसार कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय नभई लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो।

Scroll to Top