सत्याग्रही ज्योतिको अवस्था ‘क्रिटिकल’, नर्सहरुलाई विचलित नहुन अपील

अनिश्चितकालीन सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको अत्यन्तै खराब हुँँदै गएको छ । अभियन्ता नर्स रानाभाट नेपाल नर्सिङ परिषद्को परिसरमा ३ दिनदेखि सत्याग्रहमा छिन् ।

नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्ड मानिने नर्सिङ तथा मिडवाइफ्री सेवामा देखिएको बेथिति, श्रमशोषण, विभेद र नीतिगत अन्यायविरुद्ध नर्सिङ शिक्षा तथा सेवा सुधारको माग लिएर निरन्तर आन्दोलनमा छिन् ।

अभियन्ता रानाभाटकी सहयोेगी नर्स वन्दना निरौलासँग फोनमार्फत गरिएको कुराकानीमा रानाभाटको स्वास्थ्यवस्था क्रिटिकल रहेको जानकारी प्राप्त भएको छ ।

‘उहाँको ब्लडप्रेसर अत्यन्तै कम हुँदै गएको छ’ निरौलाले भनेकी छिन् ‘हामीले अहिले उहाँको नशा खोलेर स्लाइनलगायत औषधि दिएका छौं ।’

अवस्था असमान्य रहे रानाभाटलाई उपचारर्थ अस्पताल लैजाने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिइन् ।

सत्याग्रहीसँग हालसम्म सरकारले कुनै जानकारी नदिएको बताउँदै निरौलाले पेशाले नर्स रहेकी सांसद प्रभा ढकालले शुक्रबार भेटेपनि थप खोज खबर नभएको बताइन् ।

ज्योतिको अवस्था असमान्य रहेपनि सम्पूर्ण नर्सलाई विचलित नहुने उनले आग्रह गरेको निरौलाले जानकारी दिएकी छिन् ।

‘आन्दोलनप्रति सरकार अझै मौन छ’, निरौला भन्छिन् ‘माग सम्बोधन गर्ने संकेत देखिएको छैन।’

रानाभाट करिब एक दशकदेखि नर्सिङ पेशामा व्याप्त विकृति, श्रमशोषण, असमान पारिश्रमिक, असुरक्षित कार्य वातावरण तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएकी अभियन्ता हुन् ।

उनका अनुसार विगतमा सरकारसँग भएका विभिन्न सहमति र निर्णयहरू कार्यान्वयन नभएपछि अन्तिम विकल्पका रूपमा सत्याग्रह रोज्न बाध्य हुनुपरेको हो ।

अनशन सुरु गर्नुअघि उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा १५ बुँदे मागपत्र बुझाउँदै तत्काल कार्यान्वयनको आग्रह गरेकी थिइन् । माग सम्बोधन नभएपछि नेपाल नर्सिङ परिषद्को परिसरमै अनिश्चितकालीन सत्याग्रह सुरु गरेकी हुन् ।

Scroll to Top