हिमपहिरोपछि निर्मल पुर्जा (निम्स दाई)को अन्तिम लोकेशन भेटियो, खोजी कार्य सुरु गरिँदै

पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन बनेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को जीपीएस ट्र्याकले घटनाको रहस्य थप गहिरो बनाएको छ।

सार्वजनिक भएको ट्र्याकिङ डाटाअनुसार हिमपहिरोपछि उनको अन्तिम सिग्नल करिब ५,८९१.७६ मिटर उचाइमा जुलाई ३० बिहान ५ः३३ बजे (स्थानीय समय) प्राप्त भएको देखिन्छ।

यसअघि सार्वजनिक समाचारअनुसार निर्मल पुर्जासहित पाकिस्तानका पर्वतारोही सोहेल साखी र अन्य केही आरोही ब्रोड पिकमा हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएका छन्।

पाकिस्तानस्थित अल्पाइन क्लब अफ पाकिस्तानले उनीहरू हराइरहेको पुष्टि गर्दै खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। सार्वजनिक भएको जीपीएस ट्र्याकमा पुर्जाको आरोहण मार्ग स्पष्ट देखिन्छ। माथिल्लो भागसम्म नियमित रूपमा अघि बढेको ट्र्याक अचानक टुटेको छ।

त्यसपछि देखिएको अर्को रेखा सिधै तलतिर झरेको जस्तो देखिन्छ, जुन सामान्य हिँडाइको मार्गभन्दा फरक छ। यस्तो ट्र्याक दुई कारणले देखिन सक्छ।

पहिलो, जीपीएस उपकरणले वास्तविक अवस्थाभन्दा फरक बिन्दुहरू रेकर्ड गरेको देखिएको छ। दोस्रो, हिमपहिरोले व्यक्ति वा उपकरणलाई तीव्र गतिमा तल बगाएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, यो ट्र्याक मात्रै अन्तिम निष्कर्ष निकाल्ने बलियो आधार भने होइन।

अन्तिम सिग्नल प्राप्त भएको स्थानमा स्पिड ०.०० किलोमिटर प्रतिघण्टा देखिनुले उपकरण त्यही स्थानमा स्थिर रहेको संकेत गरेको छ। यसको अर्थ व्यक्तिको अवस्था पनि त्यही हो भन्ने निश्चित प्रमाण भने होइन। जीपीएस उपकरण शरीरबाट छुट्टिएको, हिउँभित्र पुरिएको वा स्थिर अवस्थामा रहेको सम्भावना पनि उत्तिकै रहन्छ।

ब्रोड पिकको ५,८०० देखि ६,००० मिटर क्षेत्र गहिरा हिमचिरा (क्रेभास), अस्थिर हिउँ र हिमपहिरोको उच्च जोखिमका कारण उद्धारका लागि अत्यन्त कठिन मानिन्छ। मौसम प्रतिकूल भए हेलिकोप्टर परिचालन पनि सहज हुँदैन, जसले खोजी कार्यलाई थप जटिल बनाउँछ।

निर्मल पुर्जा विश्वका चर्चित उच्च हिमाली पर्वतारोहीमध्ये एक हुन्। उनले १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। त्यसैले उनको सम्पर्कविहीन हुनु अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायका लागि पनि ठूलो चिन्ताको विषय बनेको छ।

हालसम्म उपलब्ध समाचार, जीपीएस ट्र्याक र आधिकारिक जानकारीका आधारमा निर्मल पुर्जाको अवस्थाबारे कुनै निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन।

अन्तिम लोकेसनले खोजी क्षेत्र साँघुरो बनाउन सहयोग गर्न सक्छ, तर उनी सुरक्षित छन् वा छैनन् भन्ने पुष्टि उद्धार टोलीले मात्र गर्न सक्छ। मौसम खराब रहेकाले शुक्रबार बिहानदेखि खोजी थालिँदैछ ।

Scroll to Top