पोखरा प्रज्ञा प्रतिष्ठानको कूलपतिमा ‘प्रतीक्षा’, उपकूलपतिमा तिलक

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य सचिव, परिषद् सदस्य र सभा सदस्य चयन गरिएको छ ।

नगर प्रमुख धनराज आचार्यले प्रतिष्ठानका नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ (भाषा तथा साहित्य), उपकुलपति तिलक पुर्जा पुन मगर (कला तथा साहित्य) र सदस्य–सचिव जीवन दाहाल (लोकगीत तथा सङ्गीत)लाई जिम्मेवारी सहित नियुक्ति प्रदान गरेका छन् ।

प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ, हरेराम जोजेजु, दिलीप गायक तथा प्रमीला ताम्राकार तुलाचन रहेका छन् ।

यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम, गमबहादुर परियार, ज्योति गुरुङ, नवराज अधिकारी, प्रेमराज अधिकारी, भास्करध्वज श्रेष्ठ, रवीन्द्र माकाजु, रिता पाहारी, शिवहरि ढुङ्गाना रहेका छन् ।

सो अवसरमा नगर प्रमुख आचार्यले प्रतिष्ठानका गतिविधिहरू मार्फत पोखरा महानगरपालिका क्षेत्रको साहित्य, कला, संस्कृति, भाषा लगायत समग्र प्राज्ञिक क्षेत्रको उन्नयन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उपप्रमुख मन्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगर क्षेत्रको साहित्य, कला, भाषा, सृजना र संस्कृतिको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

नवनियुक्त कुलपति प्रतीक्षाले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् ।

पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) अनुसार कुलपति लगायतका पदाधिकारीहरू नियुक्त तथा मनोनयन गरेको हो ।

Scroll to Top