पोखराको फिर्केखोला कोरिडोर निर्माण अभियानअन्तर्गत खोलाघर खाली गर्ने कार्य बीचमै रोकिएकोमा वातावरण संरक्षणका लागि महाअभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महाअभियानले पत्रकार सम्मेलनमार्फत फिर्केखोलाको वर्तमान अवस्थाबारे विस्तृत जानकारी दिँदै असन्तुष्टी जनाएको छ ।
विगत १५ वर्षदेखि नागरिक स्तरबाट ‘फिर्केखोला बचाउ अभियान’ हुँदै ‘फिर्के-बुलौदी खोला बृहत् सफाइ अभियान’ संचालन गर्दै आएको यस अभियन्ता समूहले फेवातालदेखि सराङकोटको फेदी अँधेरीकुनासम्म कोरिडोर, पैदलमार्ग तथा साइकल लेन निर्माणको परिकल्पना गरेको थियो।
सोही परिकल्पनाअनुसार पोखरा महानगरपालिकाको नेतृत्वमा फिर्केखोला कोरिडोर निर्माण र खोलाघर खाली गर्ने कार्य सुरु भए पनि हाल सो कार्यले पूर्णता नपाउँदै स्थगन हुन पुगेको महाअभियानले उल्लेख गरेको छ।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका प्रवक्ता गोकुलबहादुर कार्कीले फिर्केखोलाको पछिल्लो अवस्था र अभियानको आगामी कदमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो।
पत्रकार सम्मेलनपश्चात् महाअभियानले फिर्केको अनुगमनसमेत गरेका छन् ।
नागरिक स्तरबाट हुँदै आएको यस दबाबमूलक अभियानले वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी गर्दै आएको छ।
फिर्केखोलाको मुहानदेखि फेवातालसम्मको क्षेत्रलाई अतिक्रमणमुक्त गराई पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा अभियन्ताहरूले जोड दिँदै आएका छन्।
तस्बिरः सुदर्शन रञ्जित







