पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर धार्मिक पर्यटकीय सर्किटका रूपमा विकास गरिने बताएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौँस्थित सितापाइला घाटको व्यवस्थापन तथा पूर्वाधार निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सेती नदी किनारमा धार्मिक स्थलको संरक्षण र पूर्वाधार विकासले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे। दृढ इच्छाशक्ति, इमानदारिता र पारदर्शिताका साथ संचालन गरिने विकास निर्माणका काम गुणस्तरीय हुने बताउँदै उनले विकास आयोजनाको प्रभावकारिता कायम राख्न स्थानीय समुदायको निगरानी र सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
पोखरालाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महानगरले विशेष ध्यान दिएको उनले जानकारी दिए।
‘धार्मिक पर्यटकीय सर्किट निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्नेछ’, आचार्यले भने।
पोखरा महानगरपालिका वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाही योगीले सितापाइला घाटको व्यवस्थापनसँगै सेती नदीमा स्नान गर्न आउने भक्तजन तथा अन्त्येष्टि कार्यका लागि शवदाह गर्न आउने परिवारलाई थप सुविधा पुग्ने बताइन्।
धार्मिक आस्था, संस्कार र संस्कृतिसँग जोडिएका स्थलको संरक्षण र व्यवस्थित विकास महानगरको प्राथमिकतामा रहेको उनको भनाइ थियो।
पोखरा महानगरपालिका, विभिन्न संघसंस्था तथा स्थानीय व्यक्तिको सहयोगमा कुल ५१ लाख ७९ हजार रुपैयाँको लागतमा घाट व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माण गरिएको हो। सिंढी बाटो निर्माण तथा सिताघाट व्यवस्थापन समितिका कोषाध्यक्ष लेखनाथ चालिसेका अनुसार महानगरले २७ लाख ८६ हजार ८१२ र विभिन्न संघसंस्था तथा व्यक्तिबाट २३ लाख ९९ हजार ३९२ रुपैयाँ सहयोग प्राप्त भएको थियो।
सिंढी बाटो निर्माण तथा सिताघाट व्यवस्थापन समितिका अध्यक्ष लोकराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि शिवराम भण्डारी, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, समाजसेवी नगेन्द्र गुरुङ र विक्रम भण्डारी लगायतले बोलेका थिए। उनीहरूले बाटो निर्माणसँगै सेती नदी किनारामा रहेको करिब ५० रोपनी सार्वजनिक जग्गालाई यातायातसँग जोडिएको हुँदा प्राचीन ढुंगेसाँगु मेलाको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए।







