चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रको हेङझोउ सहरस्थित झेनलोङ टाउनशिपमा आएको भीषण बाढीका कारण सडक सम्पर्क विच्छेद भएपछि तीन युवतीले १ सय किलोग्रामभन्दा बढी आपत्कालीन राहत सामग्री बोकेर ६ घण्टा पैदल यात्रा गर्दै प्रभावित बासिन्दासम्म राहत पुर्याएका छन्।
उनीहरूले कठिन भूभाग पार गर्दै लामो यात्रा गरे पनि बीचमै नरोकिने अठोटका साथ राहत सामग्री सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याएका थिए।
तीमध्ये एक युवतीले भनिन्, ‘यो निकै थकाइ लाग्ने यात्रा थियो। तर थाक्दैमा रोकिन मिल्दैन। मानिसहरू हाम्रो प्रतीक्षामा थिए।’
उनीहरूको साहस, समर्पण र मानवीय सेवाप्रतिको प्रतिबद्धताले विपद्को कठिन घडीमा स्वयंसेवकहरूको भूमिकालाई उजागर गरेको चिनियाँ सञ्चारमाध्यम सीजीटीएन फ्रन्टलाइनले लेखेको छ ।
‘बाढीबाट प्रभावित क्षेत्रमा राहत पुर्याउने उनीहरूको प्रयासलाई स्थानीय स्तरमा प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ’ सञ्चारमाध्यममा उल्लेख छ ।







