आइ केयर फाउन्डेसनले पोखरास्थित हिमालय आँखा अस्पताललाई एउटा गाडी सहयोग गरेको छ ।
फाउन्डेसनले ६० लाख रुपैयाँ मूल्य बराबरको गाडी अस्पताललाई उपलब्ध गराएको हो । शुक्रबार अस्पताल परिसरमा आयोजित कार्यक्रमका बीच फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेनेट डिजक्स्ट्राले अस्पतालका पदाधिकारीलाई गाडी हस्तान्तरण गरिन् ।
सिइओ डिजक्स्ट्राले अस्पतालका अध्यक्ष सुरेन्द्र थापामगर र मेडिकल डाइरेक्टर डा. बबिता गुरुङलाई गाडीको साँचो बुझाएकी छन् ।
फाउन्डेसनले उपलब्ध गराएको यो गाडी विशेषगरी ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालन गर्न र बिरामी ओसारपसारमा प्रयोग गरिने अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष सुरेन्द्र थापामगरले अस्पताल स्थापनादेखि नै आइ केयर फाउन्डेसनले पुर्याएको निरन्तर सहयोगप्रति आभार प्रकट गरे । उनले यो सहयोगले विकट र सेवा पुग्न नसकेका क्षेत्रका बासिन्दा लाभान्वित हुने बताए ।
‘गाडीले हाम्रो पहुँच विस्तारमा ठुलो सहयोग पुर्याउने छ, यसले विशेषगरी दुर्गम क्षेत्रका बिरामीको उपचारमा सहजता ल्याउने छ,’ अध्यक्ष थापामगरले भने । उनले फाउन्डेसनसँगको लामो समयदेखिको सहकार्यले अस्पतालको सेवा गुणस्तरीय बनाउन मद्दत पुगेको उल्लेख गरे ।
कार्यक्रममा फाउन्डेसनका नेपालस्थित कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले अन्धोपन निवारणमा फाउन्डेसनले खेल्दै आएको भूमिकाबारे चर्चा गरे । उनले गण्डकी प्रदेशमा अस्पतालले गरिरहेको कामको प्रशंसा गर्दै यो गाडीले शिविर सञ्चालन र सामान ढुवानीमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अस्पतालका मेडिकल डाइरेक्टर बबिता गुरुङले अस्पतालका गतिविधिवारे जानकारी गराएकी थिइन् ।







