पोखरामा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजनालाई मूर्त रूप दिन पोखरा महानगरपालिकाले प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेका व्यापारिक संरचनाहरू हटाउन सुरु गरेको छ।
विसं २०३० मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको आधा शताब्दी (५० वर्ष) पछि महानगरले पहिलोपटक ‘साइट क्लियर’ गर्ने काम अघि बढाएको हो।
यस क्रममा पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र पर्ने बास्तोला कम्प्लेक्सका साथै उत्तरतर्फको पेट्रोलपम्प लाइनमा रहेका व्यापारिक सटर तथा कबलहरू पूर्ण रूपमा हटाई सो क्षेत्रलाई सम्याउने र सरसफाइ गर्ने कार्य गरिएको छ।
महानगरले आफ्नो लालपूर्जाभित्र परेका व्यापारिक संरचनाहरूमा डोजर चलाएर खाली गरे पनि बसपार्क क्षेत्रभित्रै रहेको ठूलो सुकुम्वासी बस्ती भने अझै खाली हुन बाँकी छ। हाल प्रस्तावित बसपार्कको जग्गा अतिक्रमण गरी तीनवटा फरक-फरक बस्तीमा ५७२ घर परिवार बसोबास गर्दै आएका छन्।
महानगरपालिकाले सुकुम्वासीहरूलाई अन्यत्र सुरक्षित स्थानमा व्यवस्थापन गरेपछि मात्रै ती घरटहराहरू हटाउने नीति लिएको छ। पोखरा महानगरका प्रमुख धनराज आचार्यले सुकुम्वासी बस्तीको उचित व्यवस्थापन र स्थानान्तरण नगरी उनीहरूलाई जबरजस्ती नहटाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
हाल महानगरले सुकुम्वासी बस्तीका बासिन्दाहरूको कागजपत्र प्रमाणीकरण र विवरण छानबिनको काम गरिरहेको छ। छानबिनका क्रममा केही व्यक्तिहरूले तीनपुस्ते विवरण गलत दिएको वा झुट्टा विवरण पेस गरेको पाइएकाले त्यस्ता व्यक्तिहरूलाई कानुन अनुसार कारबाही गरिने र वास्तविक सुकुम्वासी पहिचान भएलगत्तै स्थानान्तरण प्रक्रिया सुरु हुने प्रमुख आचार्यले स्पष्ट पारे।
महानगरले पटक-पटक आश्वासन दिँदादिँदै पनि केही गैरसुकुम्वासी र असम्बन्धित व्यक्तिहरूले बस्तीमा पसेर भ्रम फैलाउने र भड्काउने कार्य गरिरहेकाले त्यस्ता भ्रममा नपर्न समेत महानगरले आग्रह गरेको छ।
महानगरले हाल डोजर चलाएको जग्गा पहिले अधिग्रहण गरिएको भए तापनि पछि पोखरा उपत्यका नगर विकास समितिले जग्गा सट्टाभर्ना र घडेरी वितरण गर्ने विवादास्पद निर्णय गरेको थियो। यस विषयमा छानबिन गर्न महानगरले पूर्वन्यायाधीशको नेतृत्वमा एक न्यायिक समिति गठन गरेको छ, जसको प्रतिवेदन आउन अझै बाँकी छ।
यता सुकुम्वासी सरोकार समितिका अध्यक्ष प्रेम गुरुङले आफूहरू विकासको बाधक नबन्ने र महानगरले बस्ने उचित विकल्प वा स्थान देखाइदिएलगत्तै ठाउँ खाली गर्न तयार रहेको स्पष्ट पारेका छन्।







