गण्डकी प्रदेश सभाको दशौ अधिवेशनमा बोल्दै सभासद् देवका पहारी त्रिपाठीले दुबई पोखरा दुबईको उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन गइरहेको भन्दै थप खुशीको खबर सुनाएकी छिन् ।
सेप्टेम्बर २३ मा फ्लाई दुबईले सुरु गर्ने उडानका बारेमा बोल्दै सभासद त्रिपाठीले आगामी दिनमा अन्य वायुसेवा कम्पनीले पनि उडान थाल्ने सम्भावना रहेको बताएकी छिन् ।
पर्यटन व्यवसायीसमेत रहेकी सभासद् त्रिपाठीले पोखरामा उडान सुरु गर्न खाडी मुलुकका कम्पनी एयर अरेबिया र कतार एयरलाइन्ससँग पनि छलफल चलिरहेको र सकारात्मक नतीजा आउने सूचना साझा गरेकी छिन् ।
‘पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भनेर अघिल्लो वर्ष संकल्प प्रस्ताव राखेका थियौं’ त्रिपाठीले भनेकी छिन् ‘अब अन्य दुई कम्पनीसँग पनि छलफल चलिरहेकाले पोखराका पर्यटन व्यवसायी उत्साहित छन् ।’
त्यस्तै, पहिले पोखरा दुबईको भाडादर ४० हजार रहेपनि अहिले ५७ हजार चारसय र दुबई पोखराको भाडादर ४८ हजारबाट ७० हजार ५ सय रुपैयाँले बढेको जानकारी दिइन् ।
उक्त भाडादरको वृद्धिले टिकट बुकिङ् बढेको उनको धारणा छ ।







