आज जेठ १९ः दरबार हत्याकाण्डको २५ वर्ष

तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले राजा वीरेन्द्रको योगदानको स्मरण गर्दै दरबार हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

स्मृति सभामा प्रतिष्ठानका प्रतिनिधिहरूले २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको २५ वर्ष पूरा हुँदासमेत घटनाको वास्तविकता सार्वजनिक हुन नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

उनीहरूले घटनाको निष्पक्ष र तथ्यपरक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।

प्रतिष्ठानले राजा वीरेन्द्रको जन्म जयन्ती, स्मृति सभा, शान्ति गोष्ठी तथा पृथ्वी जयन्तीजस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको उल्लेख गर्दै यस वर्षको स्मृति सभा विशेष भावनात्मक बनेको जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले राजा वीरेन्द्रको निधनपछि आफूहरूलाई अझै पनि अभिभावकविहीन भएको अनुभूति हुने गरेको बताएका थिए ।

२०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो ।

नेपालको इतिहासमा यो घटनालाई सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक मानिन्छ । प्रतिष्ठानले उक्त दिनलाई ‘कालो दिन’ का रूपमा औपचारिक मान्यता दिन सरकारसँग माग गरेको छ ।

कार्यक्रममा वक्ताहरूले राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकासप्रेमी तथा प्रजातन्त्रका पक्षधर शासकका रूपमा स्मरण गरे ।

नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत उनले अन्तर्राष्ट्रिय स्तरमा शान्तिको सन्देश दिएको उल्लेख गर्दै उक्त प्रस्तावलाई विश्वका ११६ राष्ट्रले समर्थन गरेको स्मरण गरियो ।

प्रतिष्ठानले राजा वीरेन्द्रले राष्ट्रका लागि पुर्‍याएको योगदान र त्यागको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता, शान्ति र विकासका क्षेत्रमा उनका विचारहरू आज पनि सान्दर्भिक रहेको जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले राजा वीरेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउन राज्यले विशेष पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

Scroll to Top