सामान्य बिरामीलाई आकस्मिक सेवामार्फत बीमा दाबी गरे कारवाही गरिने

स्वास्थ्य बीमा बोर्डले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार गरी बीमा दाबी पेश नगर्न निर्देशन दिएको छ ।

बोर्डले यसअघि गत जेठ १२ गते गरेको निर्णय कार्यान्वयनका क्रममा यस्तो स्पष्टीकरण दिएको हो । बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार साहद्वारा जारी पत्रमा वास्तवमै आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्र यस्तो सेवा उपलब्ध गराउन भनिएको छ ।

आकस्मिक रूपमा आउने बिरामीलाई आवश्यक परेको खण्डमा अस्पताल भर्ना वा शल्यक्रिया समेत गरी उपचारपश्चात् डिस्चार्ज गर्न सकिने पत्रमा उल्लेख छ ।

तर, सामान्य अवस्थाका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत राखेर उपचार गर्ने र स्वास्थ्य बीमाअन्तर्गत दाबी पेश गर्ने गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नहुने बोर्डले स्पष्ट पारेको छ ।

मापदण्ड विपरीत दाबी गरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रियासमेत अघि बढाइने चेतावनी बोर्डले दिएको छ ।

यसैगरी, बोर्डले स्वास्थ्य बीमाका सेवाग्राहीहरूलाई पनि सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना नगर्न र तोकिएको मापदण्डअनुसार मात्र आवश्यक उपचार सेवा लिन आग्रह गरेको छ । पत्रको बोधार्थ स्वास्थ्य बीमा बोर्डको दाबी व्यवस्थापन शाखालाई समेत पठाइएको छ ।

उक्त शाखाले प्राप्त दाबीहरूको विस्तृत समीक्षा तथा मूल्यांकन गरेर मात्र भुक्तानीको प्रक्रिया अघि बढाउने जनाइएको छ ।

Scroll to Top